तुलसीपुर, साउन ७ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल तुलसीपुर उपमहानगर कार्यसमितिले तुलसीपुर नगर प्रहरीको ज्याजदी गरेको भन्दै बिरोध जनाएको छ ।
केही दिन पहिले मात्रै एक जना गाउँबाट साइकलमा लोकल कुखुरा ल्याएर बजारमा डुलाउँदै बेच्दै गरेका किसानको नगर प्रहरीले धरपकड गरि साइकल र कुखुरासमेत गाडीमा हालेर लगेको तस्बिर सार्वजनिक भएको थियो ।
त्यो घटनाका बारेमा नेपाल तरुण दल तुलसीपुर उपमहानरका अध्यक्ष सुरेन्द्रसिंह राठोरले बुधबार बिज्ञप्ति मार्फत बिरोध जनाएका छन् ।
राठोरले जारी गरेको बिज्ञप्तिमा नगर प्रहरीले कहिले मकै बेच्ने बृद्ध आमाहरु, कहिले तरकारी बेच्ने गरिब महिला, कहिले ठेला मजदुर, कहिले माछा बेच्ने र कहिले कुखुरा बेच्न आएका किसानलाई धरपकड गर्ने, उनीहरुका सामान जबरजस्ती गाडीमा हाल्ने, खोसिएका सामानको अवस्था र बिवरण कुनै सार्वजनिक नगर्ने, गरिब जनतालाई सताउने कार्य निरन्तर भइ रहेको भन्दै ती कार्यको बिरोध गरेका छन् ।
साथै उनले गरिब र निम्न बर्गका नागरिकलाई ब्यबस्थापन गर्नुको सट्टा उनीहरुलाइ सताउने, अपमानजनक ब्यबहार गर्ने उपमहानरपालिकाको जिम्मेवारी नभएको उल्लेख गरेका छन् । साथै उनले यदि नियम कार्यान्वयन नै गर्नु छ भने बजार क्षेत्र भित्रको अब्यबस्थित पार्किङ, धनिहरुले अबैधरुपमा बनाएका संरचनाहरु हटाउन माग गरेका छन् ।
तरुण नगर अध्यक्ष राठोरले तुलसीपुर उपमहानगरपालिका द्धारा सञ्चालित ‘मेट्रो कलेज’को बिएलएलबीमा अध्यनरत बिद्यार्थी नबीन केसी माथि भवन निर्माणको जिम्मा लिएको निकायप्रति आफ्नो सामाजिक सञ्जाल फेसबुकमा प्रश्न उठाएकै कारण कलेज प्रमुख वशन्त आचार्यले रेष्टिकेट गर्ने धम्कि दिएको भन्दै त्यसप्रति पनि गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
कलेज प्रमुख आचार्यले सामाजिक सञ्जालमा लेखेको कुरा हटाउन बिद्यार्थीलाई दबाब दिनुलाई अभिब्यक्ति स्वतन्त्रा कुन्ठिन गर्ने प्रयास गरेको स्पष्ट हुने तरुण नगर अध्यक्ष राठोरले बताएका छन् ।
साथै तरुण नगर अध्यक्ष राठोरले उपमहानगरपालिकाबाट बिरुवा बितरणमा पक्षपात भएको, फोटोका लागि मात्रै कर्मचारीले हात लगाउने जस्ता कार्य गरि गरिब किसानको दुःखको सम्मान नगरेको दोषारोपण गरेका छन् ।
बिज्ञप्तिको अन्त्य तिर नेपाल तरुण दल तुलसीपुरका अध्यक्ष राठोरले आँफुलाई सुकुम्बासी बताउने उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले साँच्चिकै गरिब किसान र मजदुरको कुरा बुझ्नु पर्ने, कुखुरा बेच्न आएका किसानका साइकल र कुखुरा जबरजस्ती उठाएर लैजाँदा त्यसको असर ती किसानका बच्चा र परिवारमा कति पर्छ भन्ने सम्बेदनशिलता ख्याल गर्न सुझाइएको छ ।

