दाङ, असार ३१ । प्यूठानमा धारिलो हतियार प्रहार गरि मंगलबार बिहान दश बजेतिर एक महिलाको बिभत्स हत्या भएको छ ।
जिल्लाको सरुमारानी गाउँपालिका – ३ गोठेरीकी २८ बर्षीया रुकमनी बरालको हत्या भएको हो ।
पूर्व पति ऐरावती गाउँपालिका – २ कात्तिकेका ३० बर्षीय लिलाबहादुर बरालले छिमेकी डिला परियारको घरमा गइ बसेको अबस्थामा एक्कासी आइ रुकमनी माथि धारिलो हतियार चक्कु प्रहार गरी घाँटी रेटेर हत्या गरेको प्यूठानका प्रहरी प्रमुख डिएसपी दिपेश बस्यालले फरककोणलाई बताए ।
लिलाबहादुर असार २४ गते मात्रै बिदेश बाट घर फर्किएका थिए । डिएसपी बस्यालका अनुसार लिलाबहादुर बिदेश गएको समयमा रुकमनीले सरुमारानी गाउँपालिका – ३ गोठेरीका २७ बर्षीय दिपक परियार संग दोस्रो बिवाह गरेकी थिइन ।
रुकमनी श्रीमान लिलाबहादुर बिदेश गएको समयमा एक छोरा र एक छोरीलाई छोडेर केही समय अघि दिपक संग गत बैशादमा दोस्रो बिवाह गरि गएकी थिइन । त्यो खबर घर परिवार बाट पाएपछि लिलाबहादुर असार २४ गते इराकबाट फर्केका थिए ।
बिदेशबाट घर फर्किएका लिलाबहादुरले आँफु बिदेशमा छँदा श्रीमति रुकमनीले नाबालक छोरा छोरी छोडेर दिपक संग बिबाह गरकै कारण रिसिबी राखेर घाँटी रेटेर बिभत्स हत्या गरेको डिएसपी बस्यालले बताए ।
रुकमनीलाई धारीलो हतियार चक्कु प्रहार गरी घाँटी रेटी मारेको भनेर स्थानीय दलित महिला सदस्य आशा विकले प्रहरी चौकी बडडाँडामा खबर गरेकी थिइन ।
त्यसपछि प्रहरी चौकी बडडाँडाबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा ४ जना र इलाका प्रहरी कार्यालय बिजुवारबाट प्रहरी निरीक्षक मिलन पाण्डेको कमाण्डमा ५ जनाको टोली घटनास्थलमा खटिएको थियो ।
हत्या आरोपी लिलाबहादुर भाग्न खोजेपनि स्थानीयले तत्काल नियन्त्रणमा लिएका थिए । पछि स्थानीयले नियन्त्रणमा लिएका लिलाबहादुरलाई प्रहरीको जिम्मा लगाएका थिए । घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।
