तुलसीपुर, असार २२ । दाङको गढवाबाट पाटे बाघको छालासहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा एक जना बर्दियाका छन् भने अन्य दुई जना दाङका हुन । घर धनिसहित प्रहरीले तीन जनालाई मध्य राति छापा हानेर दुर्लभ पाटे बाघको छालासहित पक्राउ गरेको हो ।
गढवा गाउँपालिका – ६ खवारीका ४१ वर्षीय विक्रम बुढा मगर, राजपुर गाउँपालिका – १ गुरुङखोलाका ५३ वर्षीय केशवराज सेन ठकुरी र बर्दियाको बारबर्दिया नगरपालिका – ४ पदनाहका ३३ वर्षीय अनिल थारू पक्राउ परेका हुन ।
प्रहरीका अनुसार उनीहरु संगै घरको माथिल्लो तलामा लुकाएर राखिएको करिब ९ फिट २ इन्च लम्बाइ र दुई फिट ३ इन्च चौडाइको पाटे बाघको छाला बरामद भएको हो ।
बाघको छालाको अबैध कारोबार भइ रहेको छ भन्ने सुराकका आधारमा वडा प्रहरी कार्यालय लमही र इलाका प्रहरी कार्यालय गडवाबाट प्रहरी प्रमुखसहित प्रहरी छापा हान्न पुगेको थियो ।
वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेको नेतृत्वको संयुक्त टोलीले छापा हानेर बाघको छाला बरामद गरेको इलाका प्रहरी कार्यालय गडवाका प्रमुख प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिए ।
प्रहरी टोलीले शनिबार मध्यराति करिब १ बजेतिर गढवा गाउँपालिका– ६ खवारीस्थित मगरको घरमा छापा हानेको थियो ।
स्रोतका अनुसार पाटे बाघ शिकारीले दाङकै जंगलमा मारेका थिए । दाङकै जंगलमा शिकारीले मारेको पाटेबाघको छाला घर धनी बिक्रमले आफ्नो घरको माथिल्लो तलामा लुकाइ छिपाइ राखेका थिए । बिक्रमसहित चार जनाका बीचमा छाला बेचे बाफत आउने पैंशा भागवण्डाको सहमति भएको स्रोत बताउँछ ।
बर्दियाका थारु र दाङका ठकुरी मिलेर छाला बेच्नका लागि बिभिन्न ब्यक्तिहरु संग डिल गरिरहेका थिए । ‘एक जना भारतिय नागरिकले ह्वाट्सएपमा मूल्यको बार्गेनिङ गर्दै सोह्र लाखमा किन्नका लागि अन्तिम डिल भएको प्रारम्भिक अनुसन्धानबाट खुल्छ,’ स्रोतले भन्यो ।
छाला छिटो बेच्नका लागि दाङका ठकुरी र थारुले डिल गर्ने जिम्मा लिएका थिए । पक्राउ परेका तीनै जना माथि आवश्यक अनुसन्धान र कारबाहीका लागि वन कार्यालयलाई छालासहित प्रहरीले जिम्मा लगाएको छ ।