सुर्खेत, असार २१ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बालबालिकालाई केन्द्रमा राखेर नीति, योजना र कार्यक्रम सञ्चालन गर्नु पर्ने बताएका छन ।
शनिबार वीरेन्द्रनगर नगरपालिका – ८ ले आयोजना गरेको वातावरण मैत्री र बालमैत्री वडा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै बालबालिकाको संरक्षण, विकास र सहभागिताका लागि जिम्मेवारी बोधका साथ ध्यान दिनु पर्ने मुख्यमन्त्री कँडेलले बताए ।
बालबालिकालाई सुरक्षित, सशक्त र सम्मानजनक वातावरण दिन सक्यौ भने मात्र भोलिको समुन्नत समाज निर्माण सम्भव हुने उनले जोड दिए ।
वातावरण संरक्षण र बाल अधिकार प्रवद्र्धनलाई परस्पर पुरक विषयका रूपमा जोड्दै स्वस्थ वातावरणमा हुर्कने बालबालिका नै समुन्नत राष्ट्र निर्माणका संवाहक हुने मुख्यमन्त्री कँडेलको भनाई थियो ।
कर्णाली प्रदेश सरकारले बालमैत्री समाज निर्माणका लागि आवश्यक नीति, बजेट र कार्यक्रमहरूलाई प्राथमिकतामा राखि बालबालिकाको स्वास्थ्य, शिक्षा, अभिव्यक्ति तथा सुरक्षीत हुने अधिकार सुनिश्चित गर्दै बालमैत्री संरचना विकास ध्यान दिने मुख्यमन्त्री कँडेलले उल्लेख गरे ।