२०८२ कार्तिक २१ गते शुक्रवार

चार बर्ष बित्दा पनि बनेन पुल


घोराही, असार १९ । निर्माण व्यवसायीको लापरवाहीका कारण डेढ बर्षमा बन्नुपर्ने पुल चार बर्ष बढी समय बित्दा समेत बन्न सकेको छैन ।

दाङको घोराही उपमहानगरपालिका–१७ गैरागाउँ र घनिबगिया जोड्ने ४० मिटर लम्वाईको कटुवाखोला पुल निर्माणमा ढिलाई भएको हो ।

पुल निर्माणको काममा ढिलाई हुँदा स्थानीयले बर्षादको समयमा दुःख पाउने गरेका छन् । २०७९ माघसम्म पुल निर्माणको काम सक्ने गरि २०७८ असार १४ गते महादेव खिम्ती/अञ्जना/जलजला जेभी काठमाडौँसँग ठेक्का सम्झौता भएको थियो ।

चार करोड १७ लाख २४ हजार रुपियाँमा पुल निर्माणको जिम्मा पाएको महादेव खिम्ती/अञ्जना/जलजला जेभीले पुल निर्माणको काम गर्न नसकेपछि चालु आर्थिक बर्षदेखि नयाँ निर्माण कम्पनीले पुल निर्माणको काम गरिरहेको सडक पूर्वाधार विकास कार्यालय दाङका सूचना अधिकारी लीलाधर गिरीले जानकारी दिएका छन् ।

उनका अनुसार ठेक्का लागेको लामो समयसम्म अलपत्र परेको पुल निर्माणले पछिल्लो समय गति लिएको छ ।

कार्यालयका सूचना अधिकारी गिरीका अनुसार खिम्ती/अञ्जना/जलजला जेभी काठमाडौंकै ठेक्का रहने गरि निर्माण व्यवसायी डिल्ली डाँगीले पुल निर्माणको जिम्मा लिएपछि अहिले करिव ७० प्रतिशत पुल निर्माणको काम सकिएको छ ।

नयाँ निर्माण व्यवसायीले पुल निर्माणको जिम्मा लिएपछि पुल निर्माणको कामले गति लिएको भन्दै सूचना अधिकारी गिरीले भने,‘नयाँ निर्माण व्यवसायीले पुल निर्माणको काम जिम्मा लिएपछि कामले गति लिएको छ । काममा ढिलाई भएन भने अव कात्तिक/मंसिरसम्म पुल तयार हुन्छ ।’

उनका अनुसार पुलको मुख्य कारण पिलर निर्माणसँगै ढलान भइसकेको र अव दायाँबबायाँ वाल निर्माणसँगै पुलमा रेलिङ बनाउने र कालोपत्रे गर्नेलगायतका काम बाँकी रहेको छ । समयमा पुल नबन्दा स्थानीयले बर्षादको समयमा सास्ती खेप्नुपर्ने बाध्यता रहेको घोराही उपमहानगरपालिका–१७ गैरागाउँ निवासी बिरबहादुर चौधरी बताउँछन् ।

समयमा पुल निर्माण नहुँदा बर्षादको समयमा स्थानीयलाई हिडडुल गर्नसँगै विद्यार्थीलाई पढ्नका लागि घोराही बजार आउन समस्या हुने गरेको बताएका छन् ।

‘पुल निर्माण भएपछि सहजता होला भन्दाभन्दै चार बर्ष बढी भइहाल्यो’, स्थानीय चौधरीले भने,‘तर पुल अभैm तयार भएको छैन । जस्ले गर्दा बर्षादमा अहिलेपनि दुःख पाउनुपर्ने अवस्था छ ।’

प्रकाशित मिति : २०८२ असार १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *