
तुलसीपुर , असार १९ । लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरीले क्षमताले अवशरलाई जोड्ने हुँदा हरेक महिलाले आँफुमा निहित क्षमताको बिकास गर्नु पर्ने बताएकी छन् ।
बिहीबार तुलसीपुरस्थित सामाजिक बिकास डिभिजन कार्यालयमा महिलाको लागि आयोजित एक महिने ड्राइभिङ तालिम समापन कार्यक्रमकी प्रमुख अतिथि प्रदेश सांसद गिरीले आफ्नो कुनैपनि काम आँफै गर्न सक्ने महिलाले राजनीतिमा पनि अवशर पाउँदै आएको बताइन ।
‘ तस्बिर आँफै बोल्छ भने जस्तै महिलाले हाँकेको चार पाङ्ग्रे सवारीले ती महिला आँफैमा आत्मनिर्भर छिन भन्ने उदाहरण दिन्छ,’ उनले भनिन् ‘ आज मोटर गाडी मात्रै होइन पाइलटपनि महिला छन् र यो संख्या थप बढेर जानु पर्छ ।’
नेपाली काँग्रेसकी नेतृ समेत रहेकी गिरीले महिला दिदी बहिनीलाई सीप सिकाएर भविश्यमा दक्ष चालक बनाउने उदेश्यका साथ सरकारले एक महिने तालिमका लागि लगानी गरेको भन्दै सीपेको सीपलाई निरन्तरता दिन आग्रह गरेकी थिइन ।
त्यस्तै उनले महिला आजपनि सूचनाबाट पछि परेको भन्दै सूचना नै अहिलेको सबैभन्दा ठूलो शक्ति र सम्पत्ति भएको बताइन ।
‘ बाटो छेउको घर वा जग्गा भन्दा ठूलो सम्पत्ति सूचना हो,’ प्रदेश सभासद गिरीले भनिन् ‘ जो संग ज्ञान सीप वा सूचना छ त्यस्ता महिला दिदी बहिनी कँही गएपनि अप्ठेरोमा पर्नु पर्दैन ।’
कार्यक्रमका बिशिष्ट अतिथि सामाजिक बिकास डिभिजन कार्यालय तुलसीपुरका प्रमुख गिरिराज पाण्डे, नेपाल तरुण दलका नेता तथा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य मुक्तिप्रशाद न्यौंपाने, नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का लगाएतले मानव जिवनमा सीपको महत्वका बारेमा मनतब्य राखेका थिए ।
तुलसीपुर उपमहानगरपालिका – ६ बरुवागाउँस्थित लक्ष्मी ड्राइभिङ सेन्टरका निर्देशक सुरज बुढाथोकीको अध्यक्षमा भएको समापन कार्यक्रमको सहजिकरण पत्रकार केबी वलीले गरेका थिए ।


