२०८२ कार्तिक २२ गते शनिवार

डोल्पाको इतिहासमै पहिलो पटक जुवाडे माथि मुद्दा चल्यो

दाङ, असार १८ । डोल्पामा पहिलो पटक प्रहरीले जुवाडेलाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको ठूलीभेरी नगरापलिका – ३ दुनैबजारमा बिएण्डबी होटलको तेस्रो तलामा जुवा खेलीरहेका पाँच जनालाई प्रहरीले छापा हानेर नियन्त्रणमा लिएको हो ।

जुवा खालबाट पक्राउ पर्नेहरुमा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका – ८ का ३३ बर्षीय अञ्चल मल्ल, डोल्पा त्रिपुरासुन्दरी नगरपालिका – ११ का २० बर्षीय नरकर्ण पुन, जिल्लाको काईके गाउँपालिका – ३ का ३३ बर्षीय राजु बुढा, ठूलीभेरी नगरपालिका – ३ का ३६ बर्षीय सटकुमार बोहोरा र जुम्लाको पातारासी गाउँपालिका – ४ का ३२ बर्षीय प्रदिप बोहोरा रहेका छन् ।

जिल्ला प्रहरी प्रमुख डिएसपी रुकबहादुर खड्काका अनुसार गएराति पौैने १० बजेतिर उनीहरुलाई जुवा खेलीरहेको अवस्थामा पक्राउ गरिएको थियो । जुवाडेको साथबाट एक लाख १८ हजार दूई सय ७५ रुपैयाँ बरामद भएको डिएसपी खड्काले बताए ।

केही मानिसहरुले पैसाको हारजित हुने गरी जुवा तास खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको टोलीले होटेलमा छापा हानेर उनीहरुलाई पक्राउ गरेको थियो ।


प्रहरीले दुई गड्डी नखोलेको तास, ५ गड्डी खुला ताससहित पाँच जनालाई नियन्त्रणमा लिएको हो ।

प्रारम्भिक चरणको अनुसन्धानबाट पक्राउ परेकाहरुले जुवा तास खेलेको रकम नगद एंव बैंक मार्फत कारोबार समेत गरेको भन्ने खुल्न आएको डिएसपी खड्काले जानकारी दिएका छन् ।


प्रहरीका अनुसार यो नै जिल्लामा पहिलो पटक जुवाडे माथि गरिएको कारबाही हो । हालसम्म जिल्लामा यसअघि कहिलै जुवाडे पक्राउ परेको वा जुवामा छापा हानेर मानिस पक्राउ गरेको रेकर्ड फेला नपरेको प्रहरीले बताएको छ ।

डोल्पा जिल्लामा जुवा तास सम्बन्धि पहिलो मुद्दा दर्ता हुँदै छ । यो भन्दा पहिला जुवा तास सम्बन्धि मुद्दा दर्ता भएको हालसम्म जिल्लामा रेकर्ड नरहेको डिएसपी खड्काले बताए ।

पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ मा भएको व्यवस्था अनुसार जुवा खेल्न नहुने वा सट्टाबाजी गर्न नहुने कुसर अन्तर्गत म्याद थपका लागि अदालत पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ असार १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *