
खेमराज रिजाल,
तुलसीपुर, २२ असार । प्रवेशद्धार निर्माणका लागि पिलरहरु तयार भइसकेका छन् । बत्तिस हेक्टर जग्गा छिचोल्ने पक्कि बाटोको स्वरुप निर्माण हुंदै छ । केहि दिनमै ढलान हुने तयारी गरिएको छ । त्रिभुज आकार र पारामिड शैलिका दुवे वगैचाका वरपर सुगन्धित फूलहरु रोप्ने तयारी भइरहेको छ । आगन्तुक प्रतिक्षालयहरु धमाधम निर्माणको क्रममा छन् । बोटानिकल गार्डेनलाई एउटा कर्नरमा जग्गा राखिएको छ । व्याम्वो बटेजका लागि अर्को स्थानमा जग्गा तयार छ । अनि धेरै मनोरञ्जनात्मक स्थलहरु निर्माणका क्रममा छन् । सायद आउँदो माघसम्ममा यो पार्क सञ्चालनमा आउने छ ।
वालवालिकाको लागि फन पार्क, प्रेमजोडीका लागि छुट्टै व्लक छ । पौडीवाजहरुका लागि कृतिम ताल निर्माण गरिएको छ । विद्यार्थिहरुका लागि बोटानिकल गार्डेन, खानपानका लागि ट्रेडिस्नल कटेज तथा ज्येष्ठ नागरीकका लागि दिवा विश्रामस्थल निर्माण भइरहेको छ । ‘सवैका लागि सधैंकालागि’ उदेश्यले पार्क निर्माण भइरहेको छ । स्विमिङ पुल तीन वटा निर्माण गरिने छ । एउटा वालवालिकाको लागि, अर्को महिला र अर्को पुरुषहरुका लागि । ‘जसले बालबालिकादेखि ज्येष्ठ नागरीकलाई समेत स्पेस दिने छ । पार्क संभवतः आउदो माघ महिनादेखि सञ्चालनमा ल्याउने छांै’—राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शोभाकर सापकोटाले भने, ‘आर्थिक व्यवस्थापनका लागि तीनै तहका सरकार समक्ष प्रस्ताव पेस गरीसकेका छौं । पार्कलाइ आर्थिक समृद्धिसंग पनि जोडिएको छ । किनकि पार्क सञ्चालन भएपछि यहांको आर्थिक गतिविधिमा समेत बृद्धि हुने अपेक्षा गरिएको छ ।’

तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ स्थित श्रीकृष्ण मन्दिर व्यवस्थापन समितिको स्वामित्वमा रहेको कम्तिमा ३२ हेक्टर जग्गालाई संरक्षण गरी ड्रिमपार्क निर्माणको काम सुरु भएको छ । पार्कको गुरुयोजना अनुसार त्यसको नामाकरण राधाकृष्ण ग्रिनपार्क राखिएको छ । यद्धपी पार्कले अन्तिम स्वरुप लिइसकेको छैन । तर पनि स्थानियबासी भने पार्क निर्माणमा अत्यन्तै सकारात्मक र आशावादी छन् । पार्क स्थानीयको समृद्धिसंग पनि जोडिने अपेक्षा उनीहरुले गरेका छन् ।
पार्क निर्माणका लागि प्रस्तावित गुरुयोजनामा अनुमानित बजेट कम्तिमा ५ करोड प्रस्ताव गरीएको छ । यद्धपि यति रकम अझै जुटेको छैन । वहुबर्षिय योजना अनुरुप आगामि ५ बर्षभित्र सवै काम सम्पन्न गर्ने नयारी पार्क निर्माण समितिले गरेको छ ।
पार्कको सवैभन्दा बढी आकर्षण पर्या–पर्यटन पनि हो । पर्यावरणिय अध्ययनपनि एउटा अवसर हुने छ । पार्कमा निर्माण हुन थालेको मिनिजु पनि आयआर्जनको एउटा माध्यम हुने आशा गरिएको छ । मिनिजु सञ्चालनका लागि संबन्धित निकायसंग अनुमति लिने प्रक्रिया पनि तत्कालै थालिने भएको छ । झुम्के मजुरदेखि जंगली लोखर्के जुमा राखिने छ । कृतिम तालमा वोटिङ र स्विमिङको पनि परिकल्पना गरिएको छ । ‘परिकल्पना मात्रै होइन, सवै क्षेत्रमा काम सुरु भइसकेको छ, आर्थिक व्यवस्थापनमा राज्यले पुर्ण सहयोग गर्नेमा आशावादी छौं,’ निर्माण समिति अध्यक्ष सापकोटाले भने, ‘गुरुयोजनाका सवै काम तोकिएको समयमै सम्पन्न हुने छन् । पौडि पोखरीले अन्तिम स्वरुप पाउने तयारीमा रहेको छ । यी सवै कामको निगमन जिल्ला वन कार्यालयबाट भइरहेको छ ।’ यो बर्ष प्रदेश नं. ५ को वन वातावरण तथा पर्यटन मन्त्रालयबाट आएको २० लाख रुपंैयाबाट गुरुयोजना बनाएर निर्माणको काम समेत अघि बढेको छ ।

‘बजेट हुंदैमा सवैले काम गरेको अवस्था छैन, तर उहांहरुले हामीले सोचे भन्दा राम्रो र बजेटले भ्याउने भन्दा धेरै काम गर्दै हुनुहुन्छ’, घोराही सेक्टर वन अधिकृत दिपक ज्ञवाली भने, ‘यदि कतै पोका बजेट आएको अवस्थामा सेक्टर वन कार्यालय पनि यो अभियानमा सहकार्य गर्न तयार छ । उनको भनाइमा पहिलो चरणमा उक्त धार्मिक बनमा ग्रिनरी पार्क बनाउन उपयुक्त हुने उनले जानकारी दिए । कहिंकतैबाट श्रोत जुटेमा पिक्निक स्पटसम्म निर्माण गर्न सकिने उनले बताए ।
त्यसैगरी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयले पनि सो धार्मिक बनमा गुरुयोजना अनुसार थालिएको ग्रिनपार्क अभियानलाई सकारात्मक भनेको छ । वन, वातावरण तथा पर्यटन मन्त्रालय ५ नम्वर प्रदेश बुटवलका सचिव धनञ्जय पौडेलले भने, ‘यदि गुरुयोजना बनाएर मन्त्रालयको योजनामा पेस गरिएको छ, भने त्यसमा आगामी आर्थिक बर्षका लागिपनि केहि रकम विनियोजन गरीसकेका छौं, अन्यथा अन्य भइपरी आउने बजेटबाट पनि सम्वोधन गर्न सकिन्छ ।’ यो गुरुयोजनामा कति बजेट परेको छ भन्ने विषयमा जिल्ला वनमै बुझ्न पनि उनले आग्रह गरे । पर्यटन संग जोडिएको योजना भएको अवस्थामा प्रदेश सरकार मात्र नभएर संघीय सरकारले पनि आवस्यक सहयोग गर्न सक्ने उनले बताए ।
स्थानीयमा समृद्धिको आशा
ग्रिनपार्क निर्माण सुरु भएसंगै स्थानीयबासी पनि समृद्धि भित्र्ने आशावादी भएर बसेका छन् । विक्रम संवत २०६६ सालमा शिवचार मुर्ती धार्मिक नाममा जिल्ला वन कार्यालयमा विधिवत रुपमा दर्ता भएको सो धार्मिक वनमा ग्रिन पार्क निर्माणको अवधारण त्यतिवेलै ल्याइएपनि लगानिको श्रोत नहुंदा पार्क निर्माणले गति लिएको थिएन । यस बर्ष भने पार्क निर्माणमा सरकारको नजर पर्न थालेको छ ।

यातायात व्यवसायी जितवहादुर खड्का भन्छन्—‘पार्क निर्माणले हामीलाई धेरै आशावादी बनाएको छ, यसले स्थानियबासीको आर्थिक समृद्धिमा पनि टेवा पुग्ने हाम्रो अपेक्षा हो।’ यसले यहांको पहिचानलाई विश्वसामु पु¥याउन सक्ने पनि उनले आशा व्यक्त गरे । त्यसैगरी मन्दिर व्यवस्थापन समितिका ज्येष्ठ सदस्य वलवहादुर केसीले पनि पार्क निर्माणसंगै यो धार्मिक वन जिल्लाभरी चिनिने अपेक्षा गरे । उतिवेला मस्किलले संरक्षण गरेको मन्दिरको जग्गामा मिनिजु लगायत पार्क निर्माणले यहांका जनताको कमाइपनि बढ्ने उनको आशा छ । सो क्षेत्र पहिले राइखल्यानदेखि गोलौरासम्मका स्थानीयबासीले सुख्खा मौसममा खानेपानी पाउने सिमसार क्षेत्रपनि हो । त्यसैगरी स्थानीय होटल व्यवसायी पुनम वलीपनि पार्क निमर्माण प्रत्रिया सुरु भएसंगै आफ्नो व्यापारिक गतिविधि बढ्नेमा आशावादी सुनिइन । अर्का स्थानियबासी अमर वलीले पनि बुढ्यौलीको उमेरमा धार्मिक बनको लघुचिडिया घरमा जंगली जनावरको अवलोकन गर्ने आशा व्यक्त गरेका छन् । थारु समुदायका गुरुवा सुरेन्द्र चौधरीले पनि अव स्थानीय स्तरमै केहि रोजगारी बढ्ने अपेक्षा व्यक्त गरेका छन् ।
मन्दिर व्यवस्थापन समितिका सदस्यहरु नै उपभोक्ताहरु रहने सो धार्मिक बनमा जो सुकै व्यक्ति पनि आजिवन सदस्य बनेपछि स्वतः उपभोक्ता बन्ने विधानमा उल्लेख छ । हाल सो धार्मिक वनमा कम्तिमा ५ सय जति उपभोक्ताहरु रहेको उपभोक्ता समितिका कोषाध्यक्ष अनिल केसीले जानकारी दिएका छन् । सो वनमा यो बर्ष राष्ट्रिय बृक्षारोपण दिवसको अवसर पारेर विभिन्न धार्मिक एवं औषधी जन्य गरि ६२ प्रजातिका १ हजार ६ सय विरुवा रोपिएको छ ।