दाङ, असार १४ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले देखाउनका लागि मात्रै विरुवा रोप्ने अभियान सञ्चालन गर्न नहुने बताएका छन् ।
शनिबार बिहशान डिभिजन वन कार्यालय, सुर्खेतले आयोजना गरेको वृहत वृक्षारोपण सप्ताह कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले रोपेको बिरुवा संरक्षणमा पनि चासो दिन आग्रह गरे ।
वृक्षारोपणलाई अभियानका रूपमा लैजानुपर्ने भन्दै उनले धेरैजसो ठाउँमा एकपटक बिरुवा रोपेपछि त्यसको संरक्षणमा ध्यान नदिने गरेको पाइएको हुँदा रोपेको बिरुवा हुर्काउन बढाउन तथा संरक्षण गर्न सबैले भूमिका खेल्नु पर्ने बताएका थिए ।
‘अब आयोजकले रोपण मात्र होइन, रेखदेख र संरक्षणमा पनि ध्यान दिनुपर्ने छ,’ मुख्यमन्त्री कँडेलले भने ‘वनविनाश, भूक्षय, सुख्खा, असिना पानी जस्ता प्राकृतिक समस्याहरू वृक्षारोपणबाट नियन्त्रण गर्न संभव हुने छ ।’
त्यस्तै उनले वृक्षारोपण वातावरण संरक्षणका लागि मात्र नभई मानव उपयोगका हिसाबले समेत लाभदायी हुनु पर्नेमा जोड दिए ।
उनले दैनिक जीवनमा प्रयोगमा आउने फलफूल तथा बहुपयोगी बिरुवा रोप्न आग्रह गरेका छन् ।
‘बोट बिरुवा रोप्ने काम देखावटीका लागि नभई हाम्रो जीवनसँग जोडिने गरी प्रयोगमा आउन सक्ने हुनुपर्छ,’ उनले भने ‘ रोपेको बिरुवाले फल दिने र आर्थिक लाभसमेत दिने किसिमका बिरुवा रोप्न सक्नु पर्छ ।’
मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले वन क्षेत्रको संरक्षण, सामुदायिक वनको सशक्तिकरण, पर्यावरणमैत्री खेती र हरियाली विस्तारलाई प्राथमिकतामा राखेर स्थानीय तहहरूसँग सहकार्य गरेर वृक्षारोपण र वातावरण संरक्षणमा दीर्घकालीन योजनाहरू लागु गर्ने नीति लिएको बताएका थिए ।
कार्यक्रममा कर्णाली प्रदेश सरकारका मन्त्री, स्थानीय तहका प्रतिनिधि, सरकारी कर्मचारी, विद्यार्र्थी, सुरक्षा निकाय, सामाजिक अभियन्ता र सर्वसाधारणको सहभागिता थियो ।

