
तुलसीपुर , असार ११ । शान्तिनगर गाउँपालिकाले आफ्ना जनताले उपभोग गर्ने न्यूनतम विद्युत महशुल आँफैले तिर्ने भएको छ ।
१८औं अधिवेशनको पहिलो बैठकमा मंगलबार आगामी आर्थिक बर्ष २०८२ /०८३ का लागि उपाध्यक्ष प्रेमा केसी बुढाथोकीले २५ लाख बजेट सर्वसाधारण जनताले उपभोग गर्ने बिद्युत महशुल तिर्नका लागि छुट्याइएको छ ।
उपाध्यक्ष बुढाथोकीले प्रस्तुत गरेको ४८ करोड ९८ लाख बजेट मध्य २० यूनिटसम्मको बिद्युत खपत गर्ने पालिकाबासी सबैको महशुल पालिकाले तिर्ने उल्लेख छ ।
लुम्बिनी प्रदेशका १०९ पालिका मध्य शान्तिनगर जनताको न्यूनतम विद्युत महशुल आँफै तिर्ने गरि बजेट बिनियोजन गर्ने पहिलो पालिका बनेको छ ।
पालिकाभर सर्वसाधारणले खपत गर्ने न्यूनतम बिद्युत महशुल २५ लाख देखि बढीमा २८ लाखसम्म पुग्ने अध्यन प्रतिबेदनले देखाएको छ ।
नेपाली काँग्रेसबाट निर्वाचित युवा नेता गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले गाउँपालिकाले विद्युत प्राधिकरणमा २५ लाख रुपैयाँ सुरुमै जम्मा गरिदिने र सोही रकमबाट न्यूनतम विद्युत खपत गर्ने सर्वसाधारणको महशुल तिर्ने गरि ब्यबस्था गरिने जानकारी दिए ।
अध्यक्ष बस्नतेका अनुसार गाउँपालिकामा २० यूनिटसम्म बिद्युत उपयोग गर्ने घरधुरीको संख्या पाँच हजार जति मात्रै छ । त्यस्को ३० रुपैयाँ महशुल तिर्नु पर्छ । यो निर्णयबाट पालिकाको बिकट भूगोलका सर्वसाधारण बढी लाभान्बित हुने अपेक्षा गाउँपालिकाको छ । शान्तिनगरका सर्वसाधारण विद्युत महशुल बुझाउन तुलसीपुर बजार नै आउने गर्छन ।
३० रुपैंयाँको बिद्युत महशुल बुझाउन बिकट मानिने बाघखोर लगाएतका बस्तिका सर्वसाधारणहरु तुलसीपुर बजार आउन गाडी अटो भाडा प्रतिब्यक्ति २५० रुपैंया लाग्ने गर्छ । जस्ले गर्दा सर्वसाधारणको समयका साथै आर्थिक भार खेप्नु परेको थियो ।
प्रस्तुत बजेटमा पालिकामा बसोबास गर्ने कुनैपनि बिद्याका राष्ट्रिय खेलाडी भए उस्लाई मासिक १० हजार भत्ता दिने ब्यबस्था गरिएको छ । बजेटमा पालिकाबाट डाक्टर वा पाइलट अध्यन गर्ने जो कोही भएपनि प्रात्साहन भत्ता दिने ब्यबस्था पनि गरिएको छ ।
तर हालसम्म शान्तिनगरबाट एक जनापनि राष्ट्रिय खेलाडी छैनन् । एक जना पनि पाइलट वा डाक्टर भने छैनन् । हालसालै अध्यन गर्नेपनि कोही छैनन् ।

