२०८२ असार २४ गते बुधवार

पेट्रोलियम अन्वेषणको पर्खाइमा बखरियाबासी


गोकर्ण पौडेल, तुलसीपुर ,असार ९ । नेपाली समाजमा एउटा उक्ति छ– ‘बाह्र वर्षमा त खोला फर्किन्छ ।’ यो उक्तिलाई आर्थिक वर्ष २०८२/८३को बजेट तथा कार्यक्रमले सार्थकता तुल्याउने आशा पलाएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर –१३ बखरियामा पेट्रोलियम पदार्थको अन्वेषण गरिने भएको छ । करिब पाँच दशक अघि बिक्रम सम्बत २०३० सालमा साविकको फूलबारी गाविस बखरियामा पेट्रोलियम पदार्थ अन्वेषणका लागि सम्भाव्यता अध्ययन गरिएको थियो ।

उतिखेरै फूलबारीको दुम्नामा अध्ययनका लागि कार्यालय समेत स्थापना गरिएको थियो । जुन कार्यालय अहिले जिर्ण अवस्था छ । वरपर काडाँको झारी पलाएको छ । बीचमा जिर्ण कार्यालय छ ।


संघीय सरकारले आर्थिक वर्ष २०८२/८३को बजेट तथा कार्यक्रममा पाल्पा,सुनसरी र दाङमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गरिने उल्लेख छ ।

तुलसीपुर – १३ बखरियाका नारायण डाँगी उक्त अन्वेषण केन्द्रका निरीक्षणका लागि तत्कालीन राजा वीरेन्द्र समेत आएको बताउँछन् ।


डाँगीका अनुसार त्यस क्षेत्रमा अन्वेषणका क्रममा निकालिएको माटोमा मट्टितेलको गन्धसमेत आएको थियो भने त्यहाँबाट निकालिएको माटोमा आगो समेत बलेको थियो ।

डाँगीले भने ‘खन्दा खन्दै मेसिनका लागि आवश्यक पर्ने तेल सकियो र नेपालगञ्जबाट थप तेल आएन भनेर टोली फर्किएको थियो । त्यसपछि फेरि टोली फर्केर आएन ।’

तुलसीपुर – १३ का वडाध्यक्ष मोहन पौडेल संघीय सरकारको बजेट तथा कार्यक्रमले वर्षौ पहिले फूलबारीवासीमा जगाएको आशा फेरि पलाएको बताउँछन् । पौडेलले ‘फूलबारीमा तेल निस्किएको हो रे ? भन्ने सुनिन्थ्यो अब चाँहि पक्कै कामले गति दिन्छ भन्ने विश्वास पलाएको छ ।’


खानी तथा भूगर्भ विभागअन्तर्गत पेट्रोलियम अन्वेषण परियोजनाका भूगर्भविद् एवम् सूचना अधिकारी प्रकाश लुइँटेलका अनुसार विभाग २०४२ सालमा मात्रै स्थापना भएको हो ।

त्यसपछि मात्रै अन्वेषणको काम सुरुवात् भएको हो । तर, त्योभन्दा पहिले नै दाङ जिल्लामा कोइला तथा पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययनको काम भएको थियो ।

लुइँटेलले अन्वेषण परियोजनामा दाङ जिल्लाको फूलबारीमा विगतमा गरिएको अध्ययनको विवरणसमेत नभएको जानकारी दिए ।

उनले आर्थिक वर्ष २०८३/८३मा बजेट विनियोजन भएकाले त्यसको अध्ययनका लागि केन्द्र कार्य योजना निर्माणको चरणमा रहेको बताए ।


भूगर्भविद् लुइटेलका अनुसार कार्य योजना निर्माण पछि स्थलगत आएर कामको सुरुवात् गरिने छ ।

प्रकाशित मिति : २०८२ असार ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *