तुलसीपुर , असार ७ । लुम्बिनी प्रदेश सरकारले ल्याएको नयाँ बजेटमा असुन्टी चुलिएको छ ।
बजेट बारे सत्ता साझेदार नेकपा एमाले र नेपाली कांग्रेसका सांसद र मन्त्रीहरुले पनि असन्तुष्टि जाहेर गर्दै आएका छ्न ।
प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रसहितका दलहरूले बजेट पुनर्लेखन नभएसम्म बजेट सम्बन्धी छलफलमा भाग नै नलिने निर्णय गरेको छ ।
त्यही भएर शनिबारको लागि बजेट माथि छलफल गर्न बोलाइएको प्रदेशसभा बैठक एकाएक स्थगित गरिएको छ ।
लुम्बिनी सरकारले चालु आर्थिक बर्षको भन्दा जम्मा ६ करोड कम बजेट ल्याएको थियो । आगामी आर्थिक वर्ष २०८२ / ०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको थियो ।
बजेटमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात ३० दशमलव ८८ प्रतिशत र पूँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात ६० दशमलव ३२ प्रतिशत विनियोजन गरिएको छ । तर, यो बजेट निर्माण प्रक्रियामै ब्यापक असुन्तुष्टी देखिन थालेको छ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको तर्फबाट शुक्रबार विज्ञप्ति मार्फत बजेटको विरोध गरिएको छ ।
पुनको सचिवालय संयोजक अनुपम जिसीले प्रदेश सरकार योजना बिक्री केन्द्र भएको दोषारोपन गरेका छन् ।
बिनियोजित बजेटले जनताका वास्तविक समस्या समाधान हुन नसक्ने दाबी गरिएको छ । बढ्दै असन्तुष्टि चिर्न प्रदेशसभा बैठक स्थगित गरि सरकारले आन्तरिक छलफल सुरु गरेको छ ।