दाङ, जेठ ३१ । दाङको तुलसीपुरबाट एक युवकको नगद लुटेर भागेकाहरु बाँकेमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका – ४ का २३ बर्षीय कुमार केसी, सोही वडाका २१ बर्षीय नन्दे भनिने शिरिस परियार, तुलसीपुुर – ४ का १५ बर्षीय एक किशोर र तुलसीपुर – ३ का १५ बर्षीय अर्का किशोर रहेका छन् ।
बाँकेस्थित इलाका प्रहरी कार्यालय कोहलपुरले उनीहरुलाई शुक्रबार नियन्त्रणमा लिएको थियो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीका अनुसार उनीहरुलाई कोहलपुर प्रहरीले केही लागुऔषधसहित पक्राउ गरेको थियो ।
यी चार जना उपर जेठ २९ गते राति साढे १० बजेतिर तुलसीपुर – ७ का २७ बर्षीय राजु चौधरीमाथि लुटपाट गरेको आरोप रहेको छ ।
तुलसीपुर – ९ बेलुवा नजिक उनीहरुले चौधरीलाई रोकेर सुरुमा एक कल फोन गर्नु छ भन्दै सुरुमा फोन नम्बर मागेका थिए ।
चौधरीले दिएको जाहेरी अनुसार त्यसपछि अरुपनि त्यहाँ आइ उनलाई समातेर साथमा रहेको नगद ३९ हजार लगेर भागेका थिए ।
चौधरीले बिमाको लागि भनेर त्यो रकम साँचेर राखेको प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।
उनीहरुले चौधरीको लाइसेन्स, ब्लुबुक तथा साथमा रहेको परिचय पत्रपनि खोसेर लगेका थिए ।
आर्मी लगाएतका सामाग्री फरक ठाउँमा फेला परेपछि स्थानीयले प्रहरीलाई बुझाएका थिए ।
यो घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको इप्रकाका सूचना अधिकारी प्रहरी निरीक्षक सुर्य राना मगरले बताए ।