
तुलसीपुर, जेठ २० । देउखुरीको बड्कापथ सिँचाइ आयोजनाको वनघुर्सी आउटलेटबाट पानी छोडिएको छ। जस्बाट स्थानीय किसान उत्साहित बनेका छन् ।
मुहानदेखि वनघुर्सीसम्मको ८.२ किलोमिटर मूल नहर र शाखा नहर निर्माण सकिएपछि पानी छोडिएको हो ।
देउखुरीमा राप्ती नदीपारिको गढवा गाउँपालिकाबाट राजपुर गाउँपालिकाको सिमानासम्म सिँचाइ सुविधा र्पुयाउने उद्देश्यका साथ बड्कापथ सिँचाइ आयोजनाको काम आर्थिक वर्ष २०६८ / ०६९ मा सुरू भएको थियो।
जसमध्य मूल नहर निर्माणको काम धमाधम चलिरहेको छ ।
आयोजनाको मुहान भालुवाङ बजार क्षेत्रस्थित राप्ती नदीको पुलमा छ। मुहानबाट गढवा गाउँपालिका–१, वनघुर्सीसम्म करिब ८.२ दुई किलोमिटर लामो मूल नहर छ। यो आयोजना सुरू भएपछि वनघुर्सीसम्मको मूल नहर र शाखा नहर निर्माण कार्य १२ वर्षमा सम्पन्न भएको हो।
आयोजना कार्यालय, लमहीका प्रमुख निश्चल छत्कुलीका अनुसार निर्माण पुरा भए आयोजनाबाट ८० हेक्टर जमिनमा बाह्रैमास सिँचाइ सुविधा उपलब्ध हुने छ ।
वनघुर्सीबाट सिक्रहवा खोलासम्मको निर्माण काम पनि धमाधम भइरहेको छ।
यो खण्ड पूरा भएपछि मूल नहरको लम्बाइ करिब साढे १४ किलोमिटर हुनेछ। यो खण्डबाट आगामी असारभरिमा किसानलाई पानी दिने लक्ष्य राखिएको छ । नहर निर्माणको क्षेत्रमा करिब साढे चार हजार रूख हटाउनु परेको हुँदा काम ढिलो भएको हो ।
बड्कापथ सिँचाइ आयोजना अन्तर्गत गढवाबाट राजपुर गाउँपालिकाको सिमानासम्म कुल चार हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ कुल ३० किलोमिटर मूल नहर निर्माण गर्ने योजना छ।
बाँकी निर्माण काम आगामी आर्थिक वर्ष २०८२ / ८३ मा सुरू हुने आयोजना प्रमुख छत्कुलीले जानकारी दिए ।
यो नहर निर्माणमा हालसम्म साढे एक अर्ब रूपैयाँ खर्च भएको छ। आयोजना सम्पन्न गर्न तीन अर्ब ७६ करोड रूपैयाँ बजेट छुट्ट्याइएको थियो।
रूख कटानी र जग्गाको भोगाधिकार समेतको खर्चका कारण आयोजना पूरा हुँदा चार अर्ब नौ करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
आगामी साढे तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ नहर निर्माणको काम भइरहेको छ ।


