तुलसीपुर, जेठ १६ । दाङको देउखुरीमा घर फोडेर सुनका गरगहना चोरी गरेको आरोपमा पाँच जना किशोर किशोरी पक्राउ परेका छन् । उनीहरुले बेचेका गरगहना किन्ने सुन पसल सञ्चालकपनि पक्राउ परेका छन् ।
पक्राउ पर्ने सबै राप्ती गाउँपालिका – ७ का किशोर किशोरी छन् । राप्ती – ७ सिसहनियाकी तारा गौतमको घरमा २०८१ चैत २३ गते चोरी भएको थियो ।
त्यो दिन सिसहनियास्थित घरमा ताला लगाइ गौतम छोरा छोरीसहित लमहीस्थित नयाँ घरमा गएकी थिइन । उनी २४ गते बिहान १० मात्रै सिसहनियास्थित घरमा फर्किएकी थिइन ।
उनी फर्किदा घरको ताला फोडिएको अवस्था थियो । उनको दरजबाट काँचो सुन र गरगहनासेमत गरि २० तोला सुन चोरी भएको थियो ।
केही नगद र एउटा ल्यापटपपनि चोरी भएको थियो । घरमा भएको चोरी बारे उनले प्रहरीमा निबेदन दिएकी थिइन ।
लामो अनुसन्धान पछि प्रहरीले जेठ ११ गते चोरीमा संलग्न किशोर किशोरीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरु १४ देखि १६ बर्षका छन् । चार किशोरी र एक किशोर छन् ।
नाबालक रहेको हुँदा उनीहरुको परिचय गोप्य राखिएको छ ।
प्रहरीका अनुसार उनीहरु स्थानीय विद्यालयमा ७ र ८ कक्षामा अध्यनरत छन् ।
गरिब परिवारका किशोर किशोरीले फागुन २३ गते यता तीन घरमा चोरी गरि सकेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
पछिल्लो समय २३ गते गौतमको घरमा चोरी गरि उनीहरुले सुन र गरगहना गुल्मी जिल्लाको बलेटक्सार गाउँपालिका – ४ घर भइ दाङको लमहीमा राहुल सुन चाँदी पसल सञ्चालन गर्दै आएका ३० बर्षीय देवबहादुर बिकलाई सुन र गरगहना बेचेका थिए । चोरीका गरगहना खरिद गर्ने बिकपनि पक्राउ परेका छन् ।
बिकको पसलबाट ८ तोला १४ लाल ४ प्वाइन्ट बिभिन्न तयारी गरगहना, २ तोला ६० लाल ८ प्वाइन्टका पुराना गरगहना तर स्वरुप परिवर्तन गरेको तथा कुच्चाएको अवस्थामा बरामद, २ तोला ४२ लाल तामाको डण्डिसहितको पञ्चरत्न बाला, ९ तोला ९० लालको ममला र कपडासहितको सुनको छड्के तिलहरी बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका पाँच जनाले अन्य दुई जना स्थानीयको घरमा पनि चोरी गरेको खुलेको प्रहरीले बताएको छ ।

