२०८२ कार्तिक २९ गते शनिवार

लुम्बिनी प्रदेश‘बजेटमा पर्यटन पूर्वाधारलाई प्राथमिकतामा राखियोस्’


दाङ,जेठ १५ । लुम्बिनी प्रदेशका सांसदहरुले पर्यटन पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न सरकारसंग आग्रह गरेका छन् ।

लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले आगामी बर्षका लागि विनियोजन हुने बजेट र तर्जुमा हुने योजनाका बिषयमा सुझाव लिन आयोजना गरेको कार्यक्रममा सांसदहरुले प्रदेशको आर्थिक समृद्धिका लागि पर्यटन विकास अपरिहार्य रहेको र यसका पर्यटन विकासका लागि पर्यटन पूर्वाधार विकास अपरिहार्य रहेको बताए ।

स-साना योजनामा लगानी नगरेर ठूला पर्यटकीय स्थलहरुमा मात्रै लगानी गरिनु पर्ने उनिहरुको सुझाव थियो । पर्यटन क्षेत्रमा हुने लगानीले प्रतिफल समेत दिलाउनु पर्ने भन्दै उनिहरुले प्रतिफल दिने खालका पर्यटकीय क्षेत्रहरुमा मात्रै लगानी गरिनु पर्ने सुझाव दिए ।

‘प्रमुख पर्यटकीय स्थलहरु चयन गरौँ र यस्ता प्रमुख थलोहरुमा मात्रै लगानी गरौँ,’एमाले लुम्बिनी प्रमुख सचेतक तुलसी चौधरीले भने ‘सरकारले गर्ने लगानीबाट प्रतिफल आउने हिसावले योजना तर्जुमा गर्न जरुरी छ ।’

यसैगरि कांग्रेसका सांसद भुवनेश्वर चौधरीले लुम्बिनीका प्रतिक्षित पर्यटकीय स्थलमा लगानी गर्नुका साथै अधुरा योजनाको पूर्णतामा ध्यान दिइनु पर्ने बताए ।

‘नयाँ ठूला योजनामा लगानी गरेर पर्यटन प्रवर्धन गर्ने कुरा त भैहाल्यो,’ चौधरीले भने ‘यसका साथै अधुरा पुराना योजनालाई पनि पूर्णता दिइनु पर्छ, अधुरा योजना रहनुले प्रदेश सरकार माथिनै प्रश्न उठ्छ ।’


यसैगरि कांग्रेसका अर्का सांसद तथा पूर्व मन्त्री बीरबहादुर रानाले बजेटको उचित व्यवस्थापन हुने गरि योजनामा लगानी गरिनु पर्ने बताए । ‘बजेट धेरै थोरै जे भएपनि प्राथमिकता निर्धारण गरेर योजनामा लगानी गरौँ,’ उनले भने ‘प्रमुख पर्यटकीय गन्तव्य पहिचान गरेर लगानी गर्ने वातावरण बन्यो भने पर्यटकीय पूर्वाधारमा टेवा पुग्छ ।’

यसैगरि नागरिक उन्मुक्तीका सांसद राजकुमार चौधरीले पर्यटकहरुको आगमन बढाउनका लागि प्रचार प्रसार आवश्यक रहेको बताए । यसका लागि पर्यटकीय स्थलहरुको चिनारी बिमानस्थलहरुमा राखिनु पर्ने सुझाव दिए ।


यसैगरि उद्योग क्षेत्रका बारेमा सुझाव दिँदै सांसदहरुले नयाँ उद्यमीहरुलाई प्रोत्साहन गर्ने गरि एक बर्ष सम्मको कर छुटको व्यवस्था गरिनु पर्ने सुझाव दिए । साथै उनिहरुले हाल रुग्न अवस्थामा रहेका उद्योगहरुलाई चलायमान बनाउनका लागि सहुलियतको व्यवस्थापन गरिनु पर्ने सुझाव दिए ।

‘नयाँ उद्यमीहरुलाई प्रोत्साहन गर्नका लागि एक बर्ष सम्मको कर छुटको व्यवस्था सरकारले गर्नुपर्छ,’कांग्रेस सांसद भुवनेश्वर चौधरीले भने ‘रुग्न अवस्थाका उद्योथहरुलाई समेत चलायमान बनाउनका लागि उनिहरुलाई सहुलियतको व्यवस्था गरिनु पर्छ ।’


कार्यक्रममा बोल्दै उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले उद्योग, पर्यटन र यातायात व्यवस्था क्षेत्रको उचित व्यवस्थापन हुने गरि बजेट विनियोजन गरिने बताए । ‘उद्योग, पर्यटन र यातायात व्यवस्था क्षेत्रको समुचित विकासका लागि मन्त्रालय गम्भिर छ, सोही अनुसार बजेट निर्धारण हुने छ,’ मन्त्री न्यौपानेले भने ‘पर्यटन विकासका लागि ठूला योजनाहरुमा लगानी गरेर प्रतिफल आउने वातावरण निर्माण गरिने छ ।’

बाह्य पर्यटकहरुको आगमन बढाउनु चुनौती रहेको भन्दै मन्त्री न्यौपानेले आगामी बर्ष धेरै पर्यटकहरुलाई भित्र्याउने योजना मुताबिक बजेट सुनिश्चितता गरिने बताए । लुम्बिनीको पर्यटन विकासका लागि लुम्बिनी विकास प्राधिकरण निर्माण गरिने मन्त्री न्यौपानेको भनाइ छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *