दाङ, जेठ १२ । लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस २०८२ तीन दिन सम्म मनाउने भएको छ ।
कार्यक्रम भव्य रूपमा मनाउने उदेश्यले मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा तयारी समिति गठन गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसलाई जेठ १४, १५ र १६ गते तीन दिन विभिन्न कार्यक्रममार्फत मनाउने निर्णय गरेको हो ।
बैठकमा मुख्यमन्त्री आचार्यले लामो संघर्ष र बलिदानीबाट प्राप्त गणतन्त्रको रक्षाका लागि सबै एक ठाउँमा उभिनु आवश्यक रहेको बताएका थिए ।
तीन दिने कार्यक्रम अन्तरगत जेठ १४ गते प्रदेशस्थित सबै सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा फहराउने, कार्यालय परिसरमा सरसफाइ गर्ने कार्यक्रम तय गरिएको छ ।
त्यस्तै जेठ १५ गते मूल समारोह अन्तर्गत जनसहभागितामा झाँकी सहित प्रभातफेरीको आयोजना गरिने भएको छ । बिहान भालुबाङबाट सुरु हुने करिब पाँच किलोमिटरको प्रभातफेरि पछि प्रदेशसभा परिसरमा शुभकामना आदानप्रदान राखिएको छ ।
अन्तिम दिन जेठ १६ गते दीपावली कार्यक्रम आयोजना गरिएको छ । त्यस्तै सञ्चारमाध्यमहरूबाट गणतन्त्र दिवससम्बन्धी अन्तरबार्ता तथा सामाग्री प्रवाह गर्ने कार्यक्रम तय गरिएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

