
तुलसीपुर , जेठ ११ । अम्बिकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालिले सुपर लग्जरियस तीन वटा नयाँ बसहरु भित्र्याएको छ । एक करोड हाराहारी मूल्यका तीन बस ल्याएपछि प्रालिले आइतबार बसपार्कमा बिधिबत रुपमा बस सेवाको उद्घाटन गरेको छ ।
ल्याइएका नयाँ बसहरुको उद्घाटन नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले रिवन काटेर गरेका हुन ।
बस उद्घाटन पछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि निर्वाचन क्षेत्र नं. ३ (क) बाट निर्वाचित चौधरीले बिगतमा आधुनिक बसपार्क निर्माणको प्रक्रिया अगाडि बढाउँदा नगरबिसका समितिमा धाएको स्मरण गरे ।
मञ्चमा आसिन यातायात ब्यबस्था कार्यालय राप्ती दाङका प्रमुख टोपेन्द्रबहादुर केसीलाई स्मरण गराउँदै उनले आधुनिक बसपार्क निर्माण गर्न नगर बिकास संग कहिले पाँच र कहिले दश करोड माग गर्दै आज आधुनिक बसपार्क बनेको बताएका थिए ।
केसी त्यतिखेर तुलसीपुर नगरका प्रमुख प्रशासकीय अधिकृत थिए । चौधरीले त्यसो भनिरहँदा केसीले स्वीकृति स्वरुप टाउको हल्लाएका थिए ।
देश बिकासमा यातायातको धेरै महत्वपूर्ण भूमिका हुने भन्दै पूर्व मुख्यमन्त्री चौधरीले जिल्लाको बिकासको सूचकपनि सुविधायुक्त यातायातलाई मान्न सकिने बताएका थिए ।
बिगतमा काठमाडौं वा नेपाजञ्ज जाँदा कुन बसमा चढ्ने समयमा पुर्याउँछ कि पुर्याउँदैन भन्ने ठूलो चिन्ताको बिषय हुने बताए । पछि नाइट बसहरु चल्न थालेको हुँदा त्यसले दाङ र राजधानीलाई प्रत्यक्ष जोडेको चौधरीको भनाइ थियो ।
बिद्यार्थी जीवनमा ट्याक्टर चढ्नकै लागि भएपनि खोलामा ढुँगा लोड गर्ने गरेको उनले स्मरण गरेका थिए । पहिलो चोटी आफुले बस त घर जस्तो हुन्छ रे ? मज्जाले बसेर यात्रा गर्न मिल्छ रे ? भन्ने कुरा सुनेपछि – बिगतमा तुलसीपुर– घोराहीमा चलने बस हेर्नका लागि चोकमा पुगेको कुरा उनले गरेका थिए ।
त्यस्तै उनले बिगतमा बसबाट तुलसीपुर – घोराहीको यात्रा गर्न कम्तिमा दुई घन्टा लाग्ने गरेको तथा भाडा जम्मा तीनदेखि चार रुपैयाँ लाग्ने गरेको भन्दै आज सुविधा सम्पन्न बसहरु जिल्लामै भित्रिएकोमा खुसी साटे ।
सुविधा युक्त सेवा प्रवाह गर्ने उदेश्यले आधुनिक बसमा लगानी गरेर जिल्लाको यातायात क्षेत्र सुधार र जिल्लाको बिकासमा भूमिका खेल्ने यातायात ब्यबसायीलाई उनले धन्यबाद दिएका थिए । त्यस्तै उनले नयाँ बस संगै यात्रुको सुविधा र सुरक्षामा ध्यान दिन आग्रह गरे ।
यत्तिको बस भए आँफुपनि अब प्लेन चढ्न नेपालगञ्ज नभइ सार्वजनिक यातायात मार्फत काठमाडौं जाने उनले प्रतिबद्धता जाहेर गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै बिगतमा आँफु तुलसीपुरको प्रमुख प्रशासकीय अधिृकत छँदा २०७४ /०२/२९ गते आधुनिक बस पाचर्कको टर्मिनल भवन उद्घाटन गरेको कुरा स्मरण गर्दै टोपबहादुर केसीले आज सुविधा युक्त भवन निर्माण भइ त्यसै भित्र कार्यक्रम गर्न पाएकोमा खुसी साटेका थिए ।
अम्बिकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालिका संस्थापक अध्यक्ष भरतप्रशाद रेग्मी, यातायात महासंघका केन्द्रीय सल्लाहकार चिन्तामणि आचार्य लगाएतले सुविधा सम्पन्न गाडी थपेको संस्थाको थप प्रगतिको कामना गर्दै यात्रुको सेवामा पनि ध्यान दिन आग्रह गरको थिए ।
अध्यक्ष घनश्याम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण संस्थाका भिमबहादुर खत्रीले गरेका थिए ।
बस उद्घाटन कार्यक्रममा पञ्चेबाजासहित नाचगानपनि गरिएको थियो ।
झन्डै एक करोड मूल्य पर्ने तीन नयाँ गाडीहरु देबहादुर बस्नेत, मिलन लामा र लोकबहादुर डाँगीले किनेको प्रालिले जानकारी दिएको छ । ती ब्यबसायीहरुलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
पूर्वमूख्यमन्त्री चौधरीसहितका अथितिले बसको निरीक्षक गर्नुका साथै केही बेर बसको सिटमा बसेका थिए ।
कार्यक्रम चलिरहँदा टर्मिनल भवन भित्रै बस समितिका कर्मचारीहरुले यातायातलाई तानातान गरेका अश्वभाविक दृष्यहरु देखिएका थिए । कार्यक्रम स्थलमा जिल्लादेखि तुलसीपुका ट्राफिक प्रहरी प्रमुखपनि थिए ।
कार्यक्रम सकिए लगतै पूर्व मुख्यमन्त्री चौधरीले तत्काल यात्रुमाथि हुने तानातानको अवस्था रोक्न उपस्थित ट्राफिकका अधिकारी र प्रहरीलाई आग्रह गरेका थिए । साथै उनले त्यही बाट प्रमुख जिल्ला अधिकारीलाई फोन गरि यात्रुमाथिको ज्याजदी रोक्नका लागि कदम चाल्न आग्रह गरेका थिए ।
उनले यात्रुले स्वतन्त्र रुपमा आँफुले रोजेर बसको यात्रा गर्न पाउनु पर्ने भन्दै जोर जबरजस्ती गर्नेहरुका बिरुद्ध अभद्र ब्यबहार सम्बन्धि मुद्दा चलाउन आग्रह गरेका थिए ।
प्रालिका अध्यक्ष बस्नेतका अनुसार हरेक दिन बसको टिकट काटेका मध्य बाट बसभित्रै चिठ्ठा काटिने र चिठ्ठा पर्नेले निशुल्क यात्रा गर्न पाउने सुविधा थपिएको पनि जानकारी दिए ।

