२०८३ असार ५ गते शुक्रवार

४ बर्षे युगान्तले पोहर आमा गुमाए यो बैशाखमा बुवा


बैशाख २१ गते भारतमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका प्यूठानका मनबहादुर बराल मगर ।

दाङ, बैशाख २८ । आमा करिब डेढ बर्ष पहिले क्यान्सरले बितिन । हालसालै इण्डियन आर्मी बुवा सवारी दुर्घटनामा बिते ।


प्युठान सरुमारानी–५ लुकलुकेका ४ बर्षीय युगान्त बराल मगरले माता –पिताको बात्सत्य प्रेम राम्रो संग अनुभूत गर्न नपाउँदै गुमाएका छन् ।

वडाध्यक्ष लक्ष्मी पल्ली मगरका अनुसार युगान्तका बुवा २७ वर्षीय मनबहादुर बराल मगरको बैशाख २१ गते जम्मुकस्मिर क्षेत्रमा जाने क्रममा सवारी दुर्घटनामा परि घटनास्थलमै मृत्यु भएको थियो ।

मनबहादुर भारतीय सेना थ्रीजीआर पल्टनमा कार्यरत थिए । त्यो दुर्घटनामा परि एक जना कमाण्डर, मनबाहदुर र चालकको घटनास्थलमै मृत्यु भएको खबर आएको वडाध्यक्ष लक्ष्मीले बताइन ।


मनबहादुरको मृत्यु पछि भारतिय सेनाले शब नेपाल ल्याउन दिएन । मनबहादुरका बुवा दुर्गाबहादुर बराल र आमा बुद्धीसरा बराल शुक्रबार छोरा मनबहादुरको अन्तेष्टि कार्यमा पुगेर शनिबार मात्रै घर फर्किएका थिए ।


अन्तेष्टि गरि बुवा आमा घर फर्किएर पछि शनिबारदेखि काज क्रियाको कर्म घरमा सुरु भएको वडाध्यक्ष लक्ष्मीले बताइन ।

नातिको किरिया ९२ बर्षीय बाजे सयराम बराल र ९० बर्षीया बज्यै शान्ति बराल बसेको वडाध्यक्षले लक्ष्मी पल्ली मगरले बताइन । ‘प्रचलित नियम अनुसार बाजे बज्यै छँदा छँदै छोराको किरिया बुवा आमाले गर्न मिल्दैन त्यही भएर बाज बज्यै नातिको मृत्यु पछि किरिया बस्नु भएको हो,’ शान्तिले भनिन् ‘ बाजे बज्यैले आँफु जाने बेलामा नातिको किरिया बस्नु परेको भनेर बिलौना गरि रहनु हुन्छ ।’


१८ महिना अघि नातिनी बुहारी २७ बर्षीया मञ्जु बरालको मृत्यु हुँदापनि बाजे बज्यै नै किरिया बसेका थिए । वडाध्यक्ष लक्ष्मीका अनुसार पछिल्लो समय मृत्यु भएका इण्डियन आर्मी मनबहादुर उनका फूपुका छोरा हुन । ‘ ऊ मेरो नाताले भाइ थियो,’ उनले भनिन् ‘ अठार महिना पहिला बुहारी बितिन यो पाली भाइ बिचरा भदैले बाबु आमाको बात्सय प्रेम अनुमूती नै गर्न पाएन ।’


युगान्त जन्मिए लगतैदेखि उनकी आमा मञ्जु बिरामी परेकी थिइन । धेरै उपचार गर्दापनि रोगको पहिचान हुन सकेको थिएन । अन्तिममा मनबहादुरले श्रीमतिलाई उपचारका लागि आँफु कार्यरत इण्डियन पल्टनमै पुर्‍याएका थिए । त्यतिखेर पनि मञ्जुको मृत्यु भएको चार दिन पछि बल्ल रिपोर्ट आएको थियो । त्यो रिपोटमा उनलाई क्यान्सर भएको हुँदा सोही कारण मृत्यु भएको उल्लेख थियो ।

वडाध्यक्ष लक्ष्मीका अनुसार जन्मदिनासाथ आमा बिरामी परेको हुँदा युगान्तलाई बरालको परिवारले अति नै गाइ भैंसीको दूध खुवाउँदै हुर्काएका थिए ।

प्युठान सरुमारानी–५ लुकलुके क्षेत्रमा नजिकमा विद्यालय नभएको हुँदा युगान्त तीन बर्ष पुगेपछि पठन पाठनका लागि बुटवलस्थित ठूली आमाको साथमा पठाइएको थियो ।

‘ छोरोलाई भाइ मनबहादुरले बिदामा आउँदा बुटवलमै गइ भेट्थ्यो,’ लक्ष्मीले भनिन् ‘ आमा पोहर बितिर र बुवा यसपाली बित्यो बीचरा युगान्त भरखरै बुझ्ने हुँदै थियो तर, दैबको लिला सानैमा ऊ टुहुरो भयो ।’

बुवा मनबहादुरको मृत्यु बारे ४ बर्षे छोरा युगान्तलाई जानकारी नदिइएको भएपनि शनिबारदेखि घरमा किरिया बसेको हुँदा बाबुलाई ल्याउने कुरा भइ रहेको वडाध्यक्ष लक्ष्मीले बताइन ।


एक एक बर्षको अन्तरालमा ४ बर्षे युगान्तले बुवा आमा गुमाएको घटनाले समाजका लागि पनि कारुनिक बनेको लक्ष्मीले बताइन ।

‘ पोहर बुहारी बितेकी थिइ र यतिखेर भाइ बितेपछि लुकलुके गाउँ शोकमा छ,’ उनले भनिन् ‘युगान्तको भविश्यलाई लिएर आफन्त मात्रै हैन पुरै समाज चिन्तित छ ।’

प्रकाशित मिति : २०८२ बैशाख २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *