तुलसीपुर, बैशाख २८ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन बैद्य (किरण) ले आमा जानकादेवी वैद्य उपाध्यायको निधन पछि पनि कपाल मुन्डन गरेनन् र किरियापनि बसेनन् ।
किरण जानकादेबीका जेठा छोरा हुन । महासविच किरणका अरु पाँच भाइहरु भने हिन्दु परम्परा अनुसार कपाल मुन्डन गर्नुका साथै किरियापनि बसेका छन् । तर, क्रान्तिकारी किरणले भने आमाको मृत्यु पछि पनि ती सबै कर्म गरेनन् ।
जानकादेवीले ६ छोरा र एक छोरीलाई जन्म दिएकी थिइन । जेठा छोरा मोहन बोहेक अरु भाइहरु भने १३औैं दिनसम्म किरिया बस्ने भएका छन् ।
जानकादेबीका जन्म विसं १९८३ पुस १५ गते अर्घाखाँची जिल्लाको अर्जुन अमलाचौरमा भएको थियो । करिब एक सय बर्षको उमेरमा उनको निधन २०८२ बैशाख २४ गते घोराही उपमहानगरपालिका – १५ रतनपुरस्थित आफ्नै निबासमा बेलकी पाँच बजेतिर भएको थियो ।
आइतबार पाँचौं दिनका अवशरमा पार्टीको ४ नम्बर व्यूरो (राप्ती) ले घोराही – १५ रतनपुरस्थित निवासमा श्रद्धाञ्जली कार्यक्रम राखेको थियो ।
कार्यक्रममा जानकादेवीका कान्छा छोरा मधुसुदन वैद्य र कान्छी छोरी रमा पोख्रेलले आमाको जिवनी प्रस्तुत गरेका थिए ।
श्रद्धाञ्जली कार्यक्रममा महासचिव वैद्यले आमाले आफूहरुलाई रुपान्तरणको लागि प्रेरणा दिएको स्मरण गरेका थिए । पञ्चायती दमन, जनयुद्धकालिन समयमा आमाबाट धेरै सहयोग र समर्थन प्राप्त भएको तथा आमाले परिवारलाई रुपान्तरणको लागि अभिप्रेरित गरेको बताए ।
त्यस्तै उनले कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आएमात्रै समाज रुपान्तरणको अभियानले सार्थकता पाउने बताएका छन् ।
‘क्रान्ति अझै अँधुरो छ किनभने कम्युनिस्ट आन्दोलनमा विभाजन छ,’ उनले भने ‘संघीय जनगणतन्त्रको स्थापना गर्दै वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा जाने महान अभियान पुरा गर्न सबै कम्युनिष्ट शक्तिहरु एकतावद्ध हुनु जरुरी छ।’
मोहनका कान्छा भाइ मधुसुदनले आमाले आँफुहरुलाई जन्म दिनुको साथै अत्यन्त कठोर परिश्रम र निकै दुःख कष्ठका साथ लालनपालन, अध्ययन व्यवस्थापन, संरक्षण, अभिभावकत्व प्रदान गर्नुका साथै सामाजिक रुपान्तरणको मार्ग तथा साम्यवादको उदत्त आदर्श प्राप्तिको दिशामा लाग्न उत्प्रेरणा प्रदान गरेको बताएका थिए ।
श्रद्धाञ्जली कार्यक्रममा प्रमुख अतिथि भने क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हरिभक्त कँडेल (प्रतिक)लाई तोकिएको थियो । प्रतिकले पनि सम्बोधनका क्रमा केही कम्युनिष्ट पार्टीहरु सत्ता स्वार्थमा लिप्त हुँदा आपसी एकतामा समस्या भएको बताएका थिए ।
श्रद्धाञ्जली कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलीटव्यूरो सदस्यहरु चन्द्रहरि सुबेदी ‘अटल’, क्रान्तिकारी महिला संघकी अध्यक्ष अम्वीका मुडवरी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्य, क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार पिताम्बर आचार्य, नेकपाका पोलिटव्यूरो सदस्य सञ्जिवकुमार झाँक्री, नेकपा बहुमतका स्थायी समिति सदस्य अनन्त केसी, नेकपा एमालेका नेता शम्भु गौतम, नेकपा मसालका प्रवक्ता भरत भण्डारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, वरिष्ठ पत्रकार नारायणप्रसाद शर्मा, सर्वौदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुसिल गौतम लगायतले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नु गरेका थिए ।
पार्टीका पोलीटव्यूरो सदस्य तथा चार नम्बर व्यूरो इन्चार्ज श्यामबहादुर बोहरा अटलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
