दाङ, बैशाख ४ । रोल्पाका चार युवा दाङमा ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
रोल्पा नगरपालिका–८ का २६ वर्षीय रविन घर्ती मगर, २५ वर्षीय विकास केसी, २५ वर्षीय रिमन पुन मगर र रोल्पा नगरपालिका–२ का २७ वर्षीय समिप रोका मगर मंगलबार दिउँसो पक्राउ परेका हुन ।
दाङको घोराही उपमहानगरपालिका –१९ स्थित दुई खोली प्रहरी चौकीबाट खटिएको प्रहरीले टोलीले सवारी चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी चौकी दुईखोलीबाट खटिएको टोलीले रा.४.प ४३५३ नम्बरको मोटरसाइकल र लु. प्र ०२–००१ प १३७६ नम्बरको स्कुटरमा सवार उनीहरुलाई चेकजाँच गर्ने क्रममा ब्राउनसुगरसहित टर्माडोल ट्याबलेट बरामद भएको थियो ।
जिल्लाका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सोम घर्ती मगरका अनुसार उनीहरु घोराहीबाट रोल्पातर्फ जाँदै गर्दा पक्राउ परेका थिए ।
उनीहरूको साथबाट ४ ग्राम ६२० मिलिग्राम ब्राउनसुगर र ७४ पत्तामा ७२० टर्माडोल ट्याबलेट बरामद भएको प्रहरी निरीक्षक घर्तीले बताए । प्रहरीले पक्राउ परेका युवाहरुलाई बुधबार सार्वजनिक गरेको हो ।
उनीहरु माथि थप अनुसन्धान भइ रहेको घर्तीले बताए ।
बर्दियामा एक युवक पक्राउ
बर्दियामा ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् ।
जिल्लाको बढैयाताल गाउँपालिका – १ शान्तिपुरका २२ बर्षीय पूर्णबहादुर सिंह ठकुरी पक्राउ परेका हुन ।
भारतको बलैईगाउँबाट साइकलमा नेपाल तर्फ आउँदै गरेका ठकुरीलाई शंका लागेर चेकजाँच गर्ने क्रममा बढैयाताल गाउँपालिका – १ को सानो डाँफेस्थित ४५ नम्बर पिलर नजिकबाट गस्तिको प्रहरीले पक्राउ गरेको थियो ।
जिल्लाका प्रहरी निरीक्षक भूपेन्द्र शाहीले पक्राउ परेका ठकुरीको साथबाट ९८० मिलीग्राम लागु औषध ब्राउन सुगर बरामद भएको बताए ।
त्यस्तै पाँच पत्तामा रहेको ३३ वटा नशा दिने क्याप्सुलपनि बरामद भएको शाहीले जानकारी दिएका छन् ।
कैलालीमा २ युवा पक्राउ
कैलालीमा ब्राउन सुगरसहित पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्लाको लम्की चुहा नगरपालिका – ०७ का २५ बर्षीय अजय चौधरीलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो ।
शंका लागि चेकजाँच गर्ने क्रममा चौधरीको साथबाट ४ ग्राम ६०० मिलिग्राम लागु औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
उनी धनगढी उपमहानगरपालिका – ३ बोराडाडी बाट पक्राउ परेका थिए ।
गोदावरी नगरपालिका –४ बसन्तपुरका १८ बर्षीय योगेश जोशीपनि पक्राउ परेका छन् ।
गोदावरी नगरपालिका – २ पूर्ब रोडमा हिडीरहेको अबस्थामा शंका लागि चेकजाच गर्दा उनको साथबाट १ ग्राम ३३० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो ।
दुबै जना माथि आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।