दाङ, बैशाख १। जंगली जनावरको शिकार खेल्ने गएका मध्य एक जनाको गोली लागेर मृत्यु भएको छ।
कपिलबस्तु जिल्लाको बुद्धभूमी नगरपालिका –९ गब्दहवाका २८ वर्षीय समुन्द्र गाहा मगरको गोली लागेर मृत्यु भएको हो ।
शनिबार दिउँसो उनलाई गोली लागेको थियो ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी मोहनमणि अधिकारीका अनुसार सोही ठाउँका ३४ वर्षीय रामबहादुर थारू र ३६ वर्षीय कालु भन्ने राम थारू सँग उनी शिकार गर्न बुद्ध यशोधरा सामुदायिक वनमा गएका थिए ।
सोही क्रममा दिउँसो ४ बजेतिर रामबहादुर थारूको भरूवा बन्दुक पड्केर समुन्द्रलाई गोली लागेको थियो ।
घाइते भएका समुन्द्रलाई दुई जनाले भैरहवा मेडिकल कलेजमा उपचारका लागि पुर्याएका थिए । चेकजाँचका क्रममा चिकित्सिले उनलाई मृत घोषणा गरेका थिए ।
बल्ल प्रहरीले घटनाबारे सूचना पाएको थियो ।
संगै शिकार गर्नका मध्य दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट दुई वटा भरुवा बन्दुकपनि बरामद भएको प्रहरीले बताएको छ । थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।
