दाङ, चैत २७ । बाँकेमा रोकिराखेको ट्रयाक्टरको ट्रलीमा मोटरसाइकल ठोक्किदा एक जना प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ ।
बाँकेको कोहलपुर नगरपालिका – २ का ४५ बर्षीय प्रहरी सहायक निरीक्षक (असइ) टोपबहादुर वस्नेतको बुधबार दिउँसो मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय राजापुरमा दरबन्दी रहेका बस्नेत दश दिन पहिले मात्रै जिल्ला प्रहरी कार्यालय बर्दियामा हाजिर भएका थिए ।
असइ बस्नेत सवार लु ७८ प ३८५० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दिउँसो २ बजेतिर ठोकिएको थियो ।
नेपालगंज गुलरिया सडकखण्ड अन्तर्गत बाँकेको जानकी गाउँपालिका – ४ मानपुर नजिकै सडकमा रोकी राखेको ट्रयाक्टरको ट्रलीमा उनी ठोक्किएपछि अचेत बनेका थिए ।
गम्भीर घाइते बस्नेतलाई उपचारका लागि नेपालगञ्जस्थित सञ्जिवनी मेडिकल कलेज अफ साइन्समा पुर्याइएको थियो । अस्पताल पुर्याएको केही बेरमै चिकित्सले उनलाई मृत घोषणा गरेको बाँकेका प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले बताए ।
दुर्घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।
घटनास्थल इप्रका खजुराबाट २ किलोमिटर पूर्व पर्छ ।
