२०८२ बैशाख ३० गते सोमवार

मोतिपुरस्थित बबईमा भइरहेको बोटिङको किन भइ रहेको हो बिरोध ?

तुलसीपुर , चैत २६ । गत बर्षदेखि एकाएक चर्चामा आएको मोतिपुरको झुलुङ्गे पुल नजिकमा यो बर्षदेखि मोटर बोट सञ्चालनमा आएपछि झनैं चर्चा चुलिएको छ ।

तुलसीपुर उपमहानगरपालिका – ११ स्थित बबई नदीमा बोटिङमा रमाउन दिनहुँ सयौं मानिस पुग्ने गरेका छन् ।

तुलसीपुर र पश्चिम दाङका केही युवाहरु मिलेर बबई नदीमा अस्थायी प्रकृतिको पक्की बाँध बाँधेर पानी भण्डारण गरि त्यसैमा मोटरबोट सञ्चालन गर्दै आएका छन् । त्यो मोटर बोटमा चढे बाफत एक जना ब्यक्तिले दुई सय रुपैंया तिर्नु पर्छ । तर, त्यसका लागि बोट सञ्चालकहरुले आवश्यक प्रकृया भने पुरा गरेका छैनन् ।

ती सबै कार्य गर्नका लागि उनीहरुले जिम्मेवार निकायबाट अनुमति वा स्वीकृति केही लिएका छैनन् । जो कुरा उपमहानगरका सूचना अधिकारी यज्ञबहादुर केसीले लिखित रुपमा प्रदान गरेको कागजले पुष्टि गर्छ ।

तुलसीपुर – ११ बेलटाकुराका युवा कृष्ण केसीले चैत २५ गते सूचनाको हक माग गर्दै निबेदन दिएका थिए । कृष्णलाई जबाफ दिदै उपमहानगरले जिम्मेवार निकायबाट अनुमति वा स्वीकृति केही नलिएको स्पष्ट जबाफ पठाएको हो ।

अनुमति वा स्वीकृति नलिदै उनीहरुले बोट सञ्चालन गरेको हुँदा नगरले पाउनु पर्ने राजश्व पनि पाउन सकेको छैन ।
यस्तै कारणहरुले गर्दा मोटर बोट सञ्चालन भएको दोस्रो दिन नै स्थानीय युवाले बिरोध गर्न थालेपछि प्रहरी त्यहाँ जानु परेको थियो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरी आँफै मोतिपुर पुगेर अवस्था बुझेका थिए ।

नयाँ र नौंलो काम जस्ले स्थानीय पर्यटन पर्बधनमा महत्वपूर्ण र सकारात्मक प्रभाव पार्ने संभावना उजागर गरेको छ त्यस्को बिरोध झन पछि झनै कसिलो बन्दै गएको छ ।


हप्ता दिन नपुग्दै बेलटाकुराका साथै कटाँहा, बेल गनार लगाएका केही युवाहरु संगठित हुँदै बिरोध जनाउन थालेका छन् ।
त्यस्को पछाडिको प्रमुख कारण स्थानीय युवाहरुले आफ्नो स्वामित्व खोज्नुलाई मानिएको छ । यो कुरा बुझ्न केही अगाडि पुग्नु पर्छ । बेलटाकुराका युवा जनक मल्ल सबै भन्दा पहले यस्स्तै प्रस्ताब लिएर वडाध्यक्ष मानबहादुर रावत कहाँ पुगेको थिए ।

आँफुले गत माघ मै मोतिपुरको भाइरल झुलुङ्गे पुलको मुनी मोटरबोट चलाउने प्रस्ताव लिएर जाँदा वडाध्यक्ष रावतले मोतिपुरको मुनी मोटर बोट चलाउनका लागि टेन्डर प्रक्रिया थालिने भन्दै टारिदिए । तर, पछि वडाध्यक्ष रावतले स्थानीय युवाहरुको माग लत्याएर बाहिरका युवाहरुलाई त्यही काम बिना टेन्डर प्रक्रिया दिएपछि स्थानीय युवाहरु रुष्ट बनेका हुन ।

तुलसीपुरसहित पश्चिम दाङका तीन जना युवाहरुले मिलेर स्थानीय सामुदायिक वन संग संझौता भने गरेका छन् । सोही अनुरुप उनीहरुले बगर क्षेत्रमा खरभुजा लगाउने र नदीमा बाँध बानेर मोटरबोट चलाउन थालेका हुन ।

तर, त्यसले कति जग्गा ओगट छ, स्थानीयको सहमति छ वा छैन भन्ने जस्ता कुराहरुमा स्पष्ट केही उल्लेख छैन ।

स्थानीय सामुदायिक वनलाई कुनै पनि नदी वा खोला टेन्डरमा लगाउने पाउने अधिकार हुँदैन । नगर वा प्रदेशको पर्यटन शाखाको स्वीकृति नलिइ बोट चलाउन हतार गरेका कारण समस्या देखिएको हो । जस्ले गर्दा बोट सञ्चालकहरुलाई पहिलो गाँसमा ढुँगा समान बन्न पुगेको छ ।

स्थानीय युवाहरु त्यही छिद्रमा खेलेर आफ्नो स्वामित्व खोज्न जोडबल गरि रहेका छन् ।


‘ यहाँ अर्कौले गरेको र कमाएर खाएको देख्न नसक्ने प्रबृति हाबी भयो भन्ने लाग्छ,’ एक युवाले भने ‘ मोटरबोट सञ्चालन पछि धेरै आकर्षण बढ्नु र राम्रो कमाइ हुन थालेपछि अहिले सबैका आँखा त्यतै परेका हुन ।’ स्थानीय युवाको समुहपनि त्यही शैलीमा यदि आँफुले नपाए बरु मोटरबोट बन्द भएपनि होस भन्ने ढंगले बिरोध उछाल्ने जोडबल गरि रहेका छन् ।

‘ स्थानीयलाई बाइपास गरि मिलेमतो बाहिरकालाई घुसाएर मोटरबोट चलाउन दिने वडाध्यक्ष मानबहादुर रावतको यहाँ सबै भन्दा ठूलो बदमासी छ,’ बिरोध गर्ने एक युवाले भने ‘ हामीलाई यो कुरा कुनैपनि हालतमा स्वीकार्य छैन । यस्तै अवस्था कायमै रहे उपन्न परिस्थितिको जिम्मेदार वडाध्यक्ष हुने छन् ।’

आँफुहरुलाई पेलिए पछि सहज र सलर रुपमा प्रस्तुत हुँदापनि मिचेरै जाने प्रबृति पालेर बसेकाहरु बिरुद्ध भिड्नै परेपनि पछि नपर्ने बिरोधमा उत्रेका एक जनाको भनाई थियो ।

‘ मान्छेहरुले हामीलाई अरुले गरेको रिस डाहा गरे मात्रै भन्ने बुझ्नु हुन्न,’ उनले भने ‘ पहिलो कुरा स्थानीयको नाताले हाम्रो अधिकार हुन जान्छ र दोस्रो कुरा हामीले गर्छौं भन्दा भन्दै हामीलाई ढाँटेर कमिसनका लागि बाह्य ब्यक्तिलाई मिलाइएको कुरा स्वीकार्य हुनै सक्दैन ।’


त्यहाँ पुग्ने सर्वसाधारण भने मोटर बोटमा रमाइ रहेका छन् । उनीहरुले मोटरबोटमा चढेको रमाएको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल बन्दै छन् । जस्ले मोतिपुर र आसपासको क्षेत्रको पर्यटन बिकासको राम्रो संभावना उजागर भएको छ । स्थानीयले ब्यापार गरि आयआर्जनका अवसर पाउने संभावना बढेको छ ।

तर, यस्तै बिरोध कायमै रहे मोटरबोट सञ्चाल थप अगाडि सहज र सलर रुपमा चलिरहन्न कि ? भन्ने चिन्ता र चासोहरु ब्यक्त हुन थालेका छन् । बिरोध गर्नेहरु र मोटरबोट सञ्चालकहरुका बीचमा छिट्टै आपसमा सम्झदारी वा सहमति कायम हुन सकेन भने समस्या थप जटिल बन्न सक्ने एक स्थानीयले बताए ।


‘ कतिपयले हाकाहाकी बाँध फुटाउँछौं भन्ने धम्की दिन थालेका छन्,’ उनले भने ‘ त्यसो अवस्था आयो भने त मोटरबोट चल्न सक्दैन र उनीहरुले गरेको लगानी बालुवामा पानी हुन सक्छ ।’


उत्पन्न बिबाद र समस्या समाधान नभए मोतिपुरमा देखिएको पर्यटनको एउटा आश लाग्दो संभावनका दियो पनि बीचमै निभ्न सक्ने उनले आँकलन गरे ।


कतिपयले उत्पन्न बिबादलाई राजनीतिक जलप दिन खोजेका पनि छन् । राजनीतिक आश्थाका रुपमा घटना क्रमलाई उछाल्न खोजेर आरोप प्रत्यारोपमा उत्रिन थालेका छन् ।

प्रकाशित मिति : २०८१ चैत्र २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *