देउखुरी, चैत २६ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, लुम्बिनी प्रदेशले साना तथा मझौला हलुका सवारी साधन (ट्याक्सी, भ्यान, कार) लाई लुम्बिनी प्रदेश भर सहज रूपमा सञ्चालन गर्न सकिने गरी रुट इजाजत (प्रमिट) को व्यवस्था गर्न माग राखेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री चेतनारायण आचार्यसँग भेटेर संगठनले हाल रुट इजाजत दुई जिल्लामा मात्र सीमित भएको भन्दै स्वरोजगारमा आश्रित मजदुरहरू समस्यामा परेको बताए ।
प्रदेश भर साना तथा मझौला हलुका सवारी सञ्चालनको अनुमति दिनुपर्ने माग उनीहरुले राखेका थिए ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जस्ता स्थानहरूबाट पर्यटक तथा सेवा ग्राहीलाई प्रदेशका विभिन्न जिल्लामा लैजान र ल्याउन सहज नहुँदा समस्या भइरहेको उनीहरुको भनाइ थियो ।
संगठनका अध्यक्ष मोहनबहादुर क्षेत्रीले प्रदेशभर रुट प्रमिट इजाजत पत्रको व्यवस्था गर्न माग गरेका थिए ।
मुख्यमन्त्री आचार्यले स्वरोजगारमा आधारित हलुका सवारी मजदुरको समस्या समाधानमा सरकारको ध्यान केन्द्रित हुने आवश्वासन दिएका थिए ।