दाङ, चैत २३ । भुइँचालो जाँदा आत्तिएर घरबाट हाम फाल्दा रुकुम पश्चिममा एक किशोर घाइते भएका छन् ।
जिल्ला प्रहरी प्रमुख डिएसपी प्रमेश बिष्टले त्रिवेणी गाउँपालिका – ९ पेउघाका १६ बर्षीय खुम्बु बिक आत्तिएर हाम फाल्दा बाँया खुट्टा भाँचिएको बताए ।
घाइते बिकलाई जिल्ला अस्पताल तर्फ ल्याउन एम्बुलेन्स पठाइएको उनले बताए । भूकम्पले पेउघाका प्रदीप सार्कीको घर चर्किएको छ ।
जाजरकोट, सल्यान, रोल्पा र दाङमा कुनैपनि मानविय क्षतिको विवरण प्राप्त छैन । तर, जाजरकोट, रुकुम पश्चिम र सल्यानमा केही घरहरु भने चर्किएका छन् ।
जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुसोत्तम न्यौंपानेले भूकम्पबाट कुनैपनि मानविय क्षति नभएको बताए ।
केही घरहरु चर्किएको खबर भने प्राप्त भएको उनmले जानकारी दिए ।
सल्यानका प्रहरी प्रमुख डिएसपी केशर न्यौंपानेले पनि जिल्लामा कुनैपनि मानविय क्षतिको विवरण प्राप्त नभएको बताए ।
बेलुकी ८ बजेर ७ मिनेट जाँदा जाजरकोट जिल्लालाई केन्द्रविन्दु बनाई ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो। लगत्तै ८ बजेर १० मिनेट जाँदा ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।