दाङ, चैत २३। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरि पक्राउ परेका छन ।
शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल बेञ्चले रबिलाई थुनामा पठाउने आदेश दिएको थियो । त्यसको लगतै शुक्रबार राति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त महाराजगन्जका प्रहरीको टोलीले रविलाई उनको हात्तीगौंडास्थित निवासबाटै पक्राउ गरेको हो ।
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराध सम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई थुनामा पठाउने आदेश दिएको थियो ।
पक्राउ पछि रबिलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा पुर्याइएको छ । शनिबार मात्रै रबिलाई रूपन्देही लगिने अधिकारीहरुले बताएका छन् ।
यो भन्दा पहिले माघ १३ गते रविलाई एक करोड रूपैयाँ धरौटीमा छाड्न रूपन्देही अदालतको आदेश दिएको थियो। फागुन १६ गते रविले जिल्ला अदालत रूपन्देहीको आदेश बदर गरी पाऊँ भन्दै उच्च अदालतमा पुनरावेदन गरेका थिए ।
बुटवलको सुप्रिम सहकारीले बचतकर्ताको १ अर्ब रूपैयाँ भन्दा बढी रकम ठगेको भन्दै प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयमा उजुरी परेको थियो।