दाङ, चैत २० । बाँके प्रहरीले ब्यबसायीलाई धम्क्याउँदै पाँच करोड भारु माग गरेको आरोपमा बिगतमा ज्यान तथा अपहरण मुद्दा खेपेका एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार सुर्खेतको भेरी गंगा नगरपालिका – ७ काठेपारी घर भइ हाल बाँकेको कोहलपुर नगरपालिका – ५ मा कोठा भाडामा बस्दै आएका ४९ बर्षीय रामबहादुर बुढा क्षत्री पक्राउ परेका हुन ।
पक्राउ परेका रामबहादुर पूर्व आर्मी हुन । केही समय जागिर खाएपछि उनी जागिर छोडेर भागेका थिए । रामबहादुर माथि बिगतमा पनि आधा दर्जन जति ज्यान तथा अपहरण सम्बन्धि मुद्दा चलेका थिए । उनी पाँच बर्ष जेल जिवन बिताएका थिए ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक प्रहरी प्रबक्ता हरि भट्टराइका अनुसार हाल पक्राउ परेका रामबहादुरले बिभिन्न बिदेशी नम्बरको ह्वाट्सएप खोलेर त्यसको दुरुपयोग गर्दै बिभिन्न ब्यापारीहरुलाई रकम माग गर्दै धम्क्याउँदै आएका थिए । जसमध्य एक जना ब्यापारीलाई ५ करोड भारु नदिए ज्यान लिने धम्कि दिदै म्यासेजहरु पठाएका थिए ।
रामबहादुरले आँफुलाई लोरेन्स बिस्नोई र अनमोल बिस्नोई भन्दै बिभिन्न ब्यापारीहरुलाई म्यासेज पठाउँदै पैंशा माग्दै धम्किदिदै आएका थिए ।
ब्यबसायीको गुनासोको आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । रामबहादुले आँफुलाई लोरेन्स र अनमोल बिस्नोई भएको भन्दै बिभिन्न ब्यक्तिहरुलाई धम्कि दिएर ठूलो धनरासी माग्ने गरेको तथा नदिए ज्यान लिने सम्मका धम्कि दिएको पाइएको प्रहरीले जानकारी दिएको छ ।
लोरेन्स बिस्नोई एक भारतिय ग्याङस्टार हुन । जो फिरौती माग्ने तथा हत्या आरोपमा सन २०१४ देखि भारतिय कारागारमा जीवन बिताइ रहेका छन् । तर, उनले जेलमै बसेर पनि ब्यक्ति हत्यादेखि फिरौती माग्ने जस्ता घटनाहरु घटाउँदै आएको आरोप लाग्दै आएको छ ।
लोरेन्स २९ मे २०२२ मा पंजाबी संगर सिद्दु मसलेवालाको हत्या गरेको अभियोग छ । त्यस्तै भारतिय अभिनेता सलमान खानलाई ज्यानमार्ने उद्योगको प्रयास गरेको अभियोग छ । त्यस्तै बाबा सिद्दिकीको हत्या गरेको आरोप उनीमाथि छ ।
अनमोल लोरेन्स भाइ हुन । अनमोलले दाइ लोरेन्स कारागारमा रहेपनि बिभिन्न ब्यक्तिहरुलाई धम्किदिदै पैंशा माग्ने गरेको आरोप लाग्दै आएको छ । रामबहादुरले पछिल्लो समय लोरेन्स र अनमोलको नाम लिदै बिभिन्न ब्यक्तिहरुलाई धम्कि दिदै आएका थिए ।
रामबहादुर २०५१ सालमा नेपाल आर्मीमा भर्ना भएका थिए । आर्मीको जागिर गर्दागर्दै उनी भागेका थिए । त्यसयता उनले खासै कुनै काम गरेको देखिदैन । बरु कहिले कुनै र कहिले कुन समुहमा जोडिएर देशका बिभिन्न स्थानमा अपराधिक क्रियाकलाप गर्ने गरेको देखिएको प्रहरी निरीक्षक भट्टराइले बताए ।
प्रहरीका अनुसार रामबहादुरको बिगतको पृष्ठभूमी राम्रो छैन । उनी ब्यक्ति हत्यादेखि बिभिन्न अपराधिक घटनामा जोडिएको खुल्छ ।
रामबहादुरका बिरुद्ध इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतमा कतब्र्य ज्यान मुद्दा चलेको थियो । २०६४/१२/२७ गते भएको संविधान सभा निर्वाचनका क्रममा संविधान सभाका उम्मेदवार ऋषि शर्मा प्रचार प्रशार गरि आउँदै गर्दा सुर्खेतको मेहलकुना जहरेबजार नजिकै लोभे भन्ने स्थानमा उनीमाथि गोली प्रहार भएको थियो ।
शर्माको हत्या भएपछि रामबहादुर माथि कर्तब्य ज्यान मुद्दा चलेको थियो । त्यसपछि २०६५ साल चैतमा द्धन्द पीडित सेना प्रहरीको आन्दोलनमा हतियार खोसेको आरोपमा काठमाडौंमा मुद्दा चलेको थियो ।
रामबहादुरकै बिरुद्ध कोटेश्वरको निखेलेश्वर मन्दिरमा शक्तिबहादुर बस्नेतलाई गोली हानेको आरोपमा मुद्दा चलेको थियो । यो मुद्दामा उनलाई अदालतले ५ बर्ष कैद र ६०००० जरिवानाको फैसला सुनाएको थियो । त्यो जेल सजाय कटाएर रामबहादुर २०७०/११/२८ गते कारागारबाट छुटेका थिए ।
रामबहादुरका बिरुद्ध महानगरिय परिशर काठमाडौंले २०६४/०५/०९ गते धम्कि दिएर मानिसलाई नियन्त्रणमा लिइ ट्याक्सीमा राखेर फिरौती अशुल गरेको अभियोगमा पनि मुद्दा चलेको थियो ।
झापा जिल्लामा २०६२/१२/०८ गते धम्क्याउँदै सर्वसाधारण बाट चन्दा अशुल गरेको अभियोगमा उनका बिरुद्ध मुद्दा परेको थियो ।
रामबहादुर बिरुद्ध इप्रका काँकरभिट्टामा २०६१/०४/२७ मा ललाइ फकाई बिवाह गर्छु भनेर एक नेपाली युवतीलाई काँकरभिट्टा हुँदै भारततर्फ लगि जिउ मास्ने , बेच्ने उद्योग सम्बन्धि मुद्दा परेको थियो ।