दाङ, चैत ८ । रुकुम पश्चिममा ट्रक भित्रै मार्बलले च्यापेर एक जना मजदुरको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् ।
रुकुम पश्चिमका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार मृत्यु हुनेमा डोल्पा जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका –१ का २४ वर्षीय देवचन्द्र सार्की रहेका छन् ।
उनी संगै ट्रकको पछाडि सवार त्रिपुरासुन्दरी –६ का २१ वर्षीय मन्दिर सार्की घाइते छन् । उनको दाँया हातमा चोट छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।
रुकुमपश्चिमको जिल्ला अस्पतालमा उनको उपचार जारी छ ।
ट्रकको पछाडि सवार उनीहरुलाई मार्बल बाँधेको डोरी चुडिएपछि मार्वल, सिमेन्ट र टायलले च्यापेको थियो ।
घाइते मध्य दुबै जनालाई अस्पताल पुर्याएको भएपनि केही बेरमै चिकित्सकले देबचन्द्रलाई मृत घोषणा गरेका थिए ।
शुक्रबार दिउँसो रुकुम पश्चिमको चौरजहारी नगरपालिका –१ गुडिरहेको लु. प्र. ०३–००१ क ००२७ नम्बरको मिनी ट्रक मार्वल, सिमेन्ट र टायर बोकेर गएको थियो ।
ट्रक गुडि रहको समयमा मार्बल बाँधेको डोरी चुँडिएपछि ट्रकको पछाडि बीचमा सवार दुई युवाालई च्यापेको थियो ।
घटना पछि फरार सुर्खेतको गुर्भाकोट नगरपालिका– ११ का अन्दाजी ३० बर्षीय चालक विकास सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।