२०८२ कार्तिक २२ गते शनिवार

‘द्रोपदी’ ले कर्णालीको मौलिक कथा वस्तुलाई उठान गरेको छ – निर्देशक आचार्य

तुलसीपुर, फागुन २९ । चलचित्र ‘द्रोपदी’ आगामी चैत्र ८ बाट देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने भएको छ ।
यो सिनेमा कर्णालीको अवस्था चित्रण गर्न महाभारतका एक महत्वपूर्ण पात्र द्रोपदीको जीवन र संघर्षलाई आधार बनाएर निर्माण गरिएको छ ।

चलचित्रका निर्माता तथा निर्देशक ऋषिराज आचार्यले फिल्म ‘द्रोपदी’ले कर्णालीको दुर्गम क्षेत्रको कला, संस्कृति, भाषा, परम्परा र त्यहाँको जन जीवनको पीडालाई समेटेको बताए ।

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले बिहीबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले डोल्पाको शे–फोक्सुन्डो ताल लगायतका कर्णालीका आकर्षक लोकेसनमा छायाँकन गरिएको फिल्ममा महिला संवेदनाको कथा वस्तुमा आधारित रहेको उनले जानकारी दिए ।

फिल्मले कर्णालीको मौलिक र विशिष्ट कथावस्तुलाई उठान गरेको निर्देशक आचार्यले बताएका थिए ।
फिल्मको माध्यमबाट कर्णालीलाई चिनाउने र कर्णालीको सुन्दरता विश्व बजारले हेर्न पाउने उनको धारणा थियो ।

‘नेपाली फिल्म प्रति दर्शकको माया र चासोलाई यसले निराश तुल्याउँदैन,’ उनले भने ‘लामो समयको अध्ययन र अनुसन्धानपछि फिल्म बनेको हो । चलचित्रको कथा र पात्रहरूले वास्तविक नेपाली फिल्मको स्वाद पाउनेछन ।’

कार्यक्रममा चलचित्रका निर्माता तथा अभिनेता प्रकाश ज्ञवालीले ‘द्रोपदी’ कर्णालीको दुर्गम भेगको कला, संस्कृति, भाषा, परम्परा तथा त्यहाँको जन जीवनको पीडालाई उजागर गर्ने कथामा आधारित रहेको बताए ।

‘फिल्ममा नयाँ अनुहार मात्र नभई, बलियो सामाजिक सन्देश बोकेको कथावस्तु समेटिएको छ ,’ उनले भने ‘चलचित्रले विशेष गरी कर्णालीको मौलिकतामा केन्द्रित रही त्यहाँको वास्तविकता चित्रण गर्ने प्रयास गरेको छ ।’

चलचित्र पत्रकार संघ नेपाल, दाङका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा चलचित्रका अभिनेता तथा गायक रवि ओडले संगीत सँग सँगै अभिनयलाई पनि आफूले अगाडि बढाएको र द्रौपदीबाट नेपाली फिल्म इन्डस्ट्रीमा इन्ट्री गरेको बताए । ‘ मै ले पनि कर्णालीकै एक पात्रको भूमिका निर्वाह गरेको छु र फिल्मले अर्गानिक कथावस्तु उठाएको छ,’ उनले भने ।

जसरी गीत संगीतमा सबैको साथ र माया पाए त्यसैगरी चलचित्रबाट पनि आम दर्शकको माया पाउने विश्वास उनले ब्यक्त गरे । चलचित्रको शिर्ष गीत ‘कर्णाली काटौला’लाई दर्शकहरूले माया गरि रहेको भन्दै उनले फिल्मलाई पनि त्यसैगरि माया गरि दिन आग्रह गरे ।

कार्यक्रममा फिल्मका अभिनेत्री सुजता तिमिल्सिना, अश्विनी शाही लगायतकाले चलचित्र राम्रो बनेको र कर्णालीको मौलिक कथावस्तु उठाएकाले बताएका थिए ।

चलचित्र पत्रकार संघ नेपाल लुम्बिनी प्रदेश संयोजक शिव पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा धन्यवाद ज्ञापन संघका सल्लाहकार शरद रेग्मीले गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव निरला अर्याल गैरेले गरेकी थिइन ।

प्रकाशित मिति : २०८१ फाल्गुन २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *