तुलसीपुर , फागुन २३ । दाङ सतबरियाका एक जना युवकको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।
मोटरसाइकल दुर्घटनाका घाइते लमही नगरपालिका – ८ सतबरियाका ३३ बर्षीय गणेश चौधरीको नेपालगञ्जस्थित नर्सिंङहोममा उपचारका क्रममा बिहीबार दिउँसो सवा २ बजेतिर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय अमेलियाका प्रहरी प्रमुख प्रहरी निरीक्षक भवानीप्रशाद धमलाका अनुसार लमहीबाट सतबरिया तर्फ जाँदै गरेको उनी सवार रा १ प ६०३९ नम्बरको मोटरसाइकल बुधबार राति करिब सवा १० बजेतिर लमही – ७ नयाँ बस्तिमा दुर्घटना भएको थियो ।
दुर्घटना पछि गम्भिर घाइते अवस्थाका चौधरीलाई उद्धार गरि उपचारका लागि लमही अस्पताल लगिएको थियो । लमहीबाट घोराहीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रिफर गरिएको थियो ।
त्यहाँ पनि उपचार संभव नभएपछि थप उपचारका लागि बाँकेको नेपालगञ्जस्थित नर्सिंङहोमका लागि रिफर गरिएको थियो । सोही अस्पतालमै गणेशको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक धमलाले बताए ।
दुर्घटना पछि फरार रहेका मोटरसाइकल चालक लमही – ८ का स्थानीय ४२ बर्षीय सन्तबहादुर चौधरीलाई बिहीबार बिहान नियन्त्रणमा लिइएको धमलाले बताए ।
सामन्ने घाइते अवस्थाका सन्तबहादुरले मदिरा सेवन गरि मोटरसाइकल चलाएको खुलेको छ ।
‘ दुबै जनाले मदिरा सेवन गरि मोटरसाइकलको यात्रामा निस्किएको खुल्छ,’ निरीक्षक धमलाले भने ।
दुर्घटनास्थल नयाँ बस्ति क्षेत्रमा सडकको नाला निर्माणको काम पनि भइ रहेको थियो । त्यसैले सडक किनारको ढुँगामा मोटरसाइकल ठोक्किएर अनियन्त्रित भइ निर्माणाधिन नालामा पुगेको प्रहरी नियन्त्रणमा रहेका चालक सन्तबहादुरले बयान गरेका छन् ।
दुर्घटना बारे थप अनुसन्धान हुने प्रहरीले बताएको छ ।