दाङ, फागुन १८ । रोल्पाको लुङ्ग्री गाउँपालिका – ६ उपल्लो गुमचालका ३३ बर्षीय रामबहादुर बुढाथोकीको होटेलमा मदिरा सेवन गर्दै गर्दा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बुढाथोकी सुनिलस्मृति गाउँपालिका – ४ सुलीचौरस्थित ‘थकाली होटेल एण्ड लज’ मा मदिरा सेवन गर्दै गर्दा कुर्सीबाट भूइमा लडेको अवस्थामा फेला परेका थिए ।
दिउँसो साढे ३ बजेतिर होटेलमा पुगेका बुढाथोकी सञ्चालिका अन्जु थकालीका लागि अपरिचित थिए । बुढाथोकीले साहुनी संग मदिरा मागेपछि कुर्सीमा बसेर सेवन गरि रहेका थिए ।
होटेलकी सञ्चालक आफ्नै काममा ब्यस्त रहेको समयमा साढे ५ बजेतिर बुढाथोकी कुर्सीबाट भूइमा लडेको अवस्थामा साहुनीले देखेकी थिइन । भूइमा लडेका बुढाथोकीलाई उठाउन प्रयास गर्दा हलचल नगरेपछि अन्जुले ६ बजेतिर प्रहरीलाई खबर गरेकी थिइन ।
जिल्ला प्रहरी कार्यालय बाट प्रहरी निरीक्षक अरुण तामाङको नेतृत्वमा सात जनाको टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरीले मदिरा सेवन गर्दै गर्दा लडेर मृत्यु भएका युवकको केही बेरको प्रयास पछि पहिचान गरेको थियो ।
घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।