तुलसीपुर , फागुन १७ । तुलसीपुरको राम्री क्षेत्रमा शनिबार बिहान मृत अवस्थामा फेला परेकी महिलाको पहिचान खुलेको छ ।
मृतक सुर्खेतको लेखबेसी नगरपालिका – १० की ४० बर्षीया सीता पोख्रेल रहेको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय तुलसपुरका प्रहरी निरीक्षक बिनोद खत्रीका अनुसार मृतकका छोरा हेमराज पोख्रेलले फोन गरि सनाखत गरेको बताए ।
छोरा हेमराजले आमाको बारेमा सबै कुरा तुलसीपुर आएरै गर्ने प्रहरीलाई बताएका छन् । उनी कहिले सुर्खेतबाट हिडेकी थिइन र कसरी तुलसीपुर आइ पुगिन भन्ने बारेमा थप अनुसन्धान हुन बाँकी नै रहेको प्रहरीले जानकारी दिएको छ ।
तुलसीपुर उपमहानगरपालिका – ३ राम्रीको भित्री सडक खण्डमा महिला लडेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले यसअघि मृतकको साथमा मेडिकल कलेजको कार्ड र बैंकको डेबिड कार्ड फेला पारेको थियो । मेडिकल कलेजको कार्डमा सर्खेतको वीरेन्द्रनगर नगरपालिका –१२ उल्लेख रहेको थियो भने नाम भने सीता पोख्रेल उल्लेख थियो ।
घटना बारे थप अनुसन्धान हुने प्रहरीले बताएको छ ।
