दाङ,फागुन १७। घोराही उपमहानगरपालिकाका प्रवक्ता तथा शिक्षा संयोजक राममणि पाण्डेले विद्यालयले चरित्रवान् तथा नैतिकवान् जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् ।
दाङको घोराहीस्थित राजविद्या पाठशालाको पाँचौ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रवक्ता पाण्डेले विद्यालयले चरित्रवान् तथा नैतिकवान् जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पाण्डेले अबको शिक्षा प्रणालीमा केही परिवर्तन गर्नुपर्ने आवश्यक रहेको समेत बताए । ‘हामी गुणस्तरीय तथा संस्कारसहितको शिक्षा भनिरहेका छौँ ।
संस्कारसहितको गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेकोमा दुईमत छन । तर, शिक्षा प्रणालीमा सुधारका लागि ऐनआवश्यक छ । चाँडै नै घोराही उपमहानगरपालिकाले स्थानीय शिक्षा ऐन निर्माण गरेर आवश्यक सुधार गरिने छ ।
’प्रवक्ता पाण्डेले थपे, ‘घोराही उपमहानगरपालिकाका संस्थागत तथा सामुदायिक विद्यालयका धेरै कार्यक्रममा सहभागी भएको छु तर आज राजविद्या पाठशालाको कार्यक्रममा फरक अनुभव गरेको छु । विद्यालयले विद्यार्थीको चौतर्फी विकासका लागि गरेको कार्य प्रशंसनीय रहेको छ । हामीले उत्पादन गर्न खोजेको जनशक्ति यस्तै हो, जसले हरेक क्षेत्रको नेतृत्व गर्न सकून् अनि विश्व बजारलाई चलायमान गराउन सकून् ।’
कार्यक्रमका अर्का वक्ता तथा विशिष्ट अतिथि पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले पछिल्लो पुस्ताको मनोभावना र समय अनुसारको शिक्षा आवश्यक रहने बताए ।
‘यहाँ विद्यार्थीले गरेका क्रियाकलापले पनि देखाएको छ कि राजविद्याले युग सुहाउँदो मात्र होइन युगलाई नेतृत्व गर्न सक्ने जनशक्ति उत्पादनमा गर्न प्रयासरत रहेको छ, यो सकारात्मक कार्यका लागि शुभकामना ।’
कार्यक्रममा अभिभावक पूजा शर्माले आफ्ना विचार राख्दै विद्यालयले गरेका कार्यको उच्च मूल्याङ्कन गरेकी थिइन् । ‘धेरै सकारात्मक तथा सिर्जनात्मक कार्यका बिच साना गल्ती पनि होलान् त्यस्ता त्रुटिको सूक्ष्म अध्ययन गरी सुधार गर्न सकेमा विद्यालयलाई लक्ष्य भेट्न सजिलो हुन्छ नै ।’ अभिभावक शर्माले बताइन् ।
कार्यक्रममा विद्यार्थीले विभिन्न संस्कृति झल्कने नृत्य, गीतका साथै योगा, तेक्वान्दो प्रदर्शन गरेका थिए । कार्यक्रममा विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका विद्यार्थीलाई अवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा उत्कृष्ट शिक्षकका रूपमा वर्षा विसी र आशिका हमाललाई सम्मान गरिएको थियो । शैक्षिक सत्र २०८१मा नियमित विद्यालयमा उपस्थित हुने शिक्षक लिलावती पोख्रेललाई सम्मान गरिएको थियो । त्यस्तै निरन्तर पाँच वर्षदेखि कार्यरत शिक्षक ममता पुन र कर्मचारी पवित्रा गुरुङलाई सम्मान गरिएको थियो ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष टीकाजंग बिकेको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा कक्षा ३ की शान्भी लामिछाने र कक्षा ८ की सम्भावना वलीले स्वागत मन्तव्य राखेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदिम केसीले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण कक्षा ८ का अर्नव चौवे र साकुरा बुढा तथा कक्षा २ का राइना राना तथा सान्सा बुढा मगर एवम् कक्षा १ की इभा शाहले गरेका थिए ।