दाङ, फागुन १६ । धनुषाको मिथिला बिहारी नगरपालिका– ६ की २६ बर्षीया अनिताकुमारी यादवले गत मंसिरमा जिल्लाकै कमला नगरपालिका– ६ सिम्याहीका ३३ वर्षीय शहिद अन्सारीलाई धेरै कर गरि बोलाउँछिन ।
शहिद कतारमा थिए । उनीहरु एक अर्कालाई प्रेम गर्थे । शहिदले अनिताको नाममा सन २०२४ अप्रिल २४ मा २७० कतारी रियाल पठाएको अनुसन्धानबाट खुलेको छ ।
अनिताले शहिदलाई विश्वास दिलाउन दुई लाख रुपैयाँपनि इमोमाफर्त देखाउँथिन । राजकिशोर त्यतिखेर साउदी अरवमा थिए । आफ्ना बिदेशमा रहेका श्रीमन ३२ बर्षे राजकिशोर यादवले पठाइदिएको रकम बाट घुमेर रमाइलो गरौंला भन्ने प्रेमिल कुरा गर्दै अनिताले शहिदलाई बोलाएकी हुन्छिन ।
कतारबाट मलाई भेट्न छिट्टै आउ, तिम्लाई धेरै मिस गरेको छु , यी हेर म संग यति धेरै पैंशा छ । हामी यो पैंशाले घुमौंला, मोज गरौंला र मेरो कानको उपचार पनि गरौंला भन्ने कुरा अनिताको हुन्थ्यो ।
अनिता आफ्ना प्रेमी शहिदलाई ती रुपैयाँ देखाउँदै निरन्तर फुल्याइ रहिन । अनिताको केही दिन यताको निरन्तरको याचनाले शहिदको मन रसायो । उनले हुन्छ भनिदिए । तर, अफिसले बिदा दिदैन ? कसरी आउने ? यो कुरा शहिदले अनिता समक्ष राखेका थिए ।
सायद उनीहरु मिलेरै जुक्ति लगाए । अनिता पहिले देखि नै कानको बिरामी छँदै थिइन । त्यही देखाउने बाहानामा उनी अस्पताल पुग्छिन् । उनले रिपोर्ट कार्डमा मिथिला बिहारी नगरपालिका– ६ लेखाइनन् ।
बरु कमला नगरपालिका – ६ लेखाइन । आफ्नो नाम अनिता यादव लेखाइनन् । अजिमा खातुन लेखाइन । अजिमा शहिदकी श्रीमति हुन । यो सबै काम योजनाबद्ध रुपमा भयो ।
जब अनिताको फर्जी रिपोर्ट बनाउन सकिन र उनको हातमा अस्पतालले अजिमा बिरामी छिन भन्ने बेहोरोको कार्ड थमायो उनी उत्साहित हुने नै भइन । ढिला नगरी त्यो कार्ड कतारमा रहेका शहिदलाई पठाउँछिन । यो कुरा २९ बर्षीया अजिमालाई थाँहा हुने कुरै थिएन ।
प्रेमी अनिताले पठाएको अस्पतालको सोही रिपोर्ट कार्ड शहिदले आफ्नो अफिसमा पेश गर्छन । श्रीमति अजिमा बिरामी रहेको र उपचारका लागि नेपाल फर्किन चाहेको भन्दै अस्पतालको रिपोर्ट पेश गरेपछि उनलाई अफिले घर फर्किनका लागि बिदा दिन्छ । शहिदले श्रीमति अजिमाका साथै घर परिवार वा आफन्त कसैलाई पनि नेपाल फर्किरहेको सूचना भने दिएका हुँदैनन् ।
श्रीमतिको उपचारका लागि भनेर शहिद २६ मंसिरमा नेपाल आइ पुग्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान साढे ८ बज्दै गर्दा प्लेनबाट ल्याण्ड हुन्छन् । त्यसको केही बेरमै बिहान ९ बजेतिर शहिदले अनितालाई फोन सम्पर्क गर्छन ।
शहिद डेड बर्ष पहिला कतार जाँदा अनिताले नै प्रयोग गर्दै आएको मोवाइल सीमकार्ड लगेर गएका थिए । काठमाडौं आइ पुगेपछि त्यसैमा रिचार्ज गरि शहिदले अनितालाई आँफु आइ पुगेको कुरा सुनाउँछन् । अनिताले मख्ख परेको भावमा थप प्रेमिल वात शहिदको मस्तिष्कमा घोलिदिन्छिन् । आँफु तीब्र प्रतिक्षामा बसि रहेको तथा दुई बीचका मधुर रात र पलहरु पोकाहरु बाँड्छिन ।
शहिद अनिता संगको बिगतका याद र छिट्टै हुने मिलनको मिठो कल्पनामा डुबुल्की मार्दै निमेषपनि ढिला नगरी बसमा चढ्छन् । मंसिरको चिसोको पनि उनलाई वास्ता भएन । यात्राका क्रममा उनीहरुका बीचमा पटक ÷ पटक फोन सम्पर्क हुन्छ । अनिताका त्यस्तै प्रेमिल बातहरु सुनेर शहिद बाटो कटेको पत्तै पाएनन् ।
काठमाडौंबाट बिपी राजमार्ग हुँदै शहिद आफ्नो घर नगइ सरासर सोही दिन बेलुका साढे ८ बजेतिर निष्पट अँधेरिमा अनिताको घर पुग्छन् ।
अनिताका श्रीमान राजकिशोर ३ बर्ष पहिले साउदी अरब गएपछि शहिद संग अनिताको सम्बन्ध जोडिएको थियो । उनीहरु सामाजिक सञ्जाल मार्फत भेट भएपनि छिट्टै नजिकिएका थिए । जतिखेर उनीहरु आपसमा भेटघाटहरु पनि गर्ने गरेका थिए ।
त्यतिखेरै शहिद अनिताको घरमा पनि पुग्थे । उनीहरु बीचको सम्बन्धको गाँइगुँइ हल्लाहरु उतिखेरै समाजमा पनि चलेको थियो । श्रीमति अजिमाले आफ्ना श्रीमान शहिद र अनिता बीचको सम्बन्ध बारे थाँहा पाएपछि एक पटक श्रीमानलाई संझाएकी थिइन । त्यही भएर पनि अजिमाले शहिदलाई बरु बिदेश जान सुझाएकी थिइन ।
जब शहिद मंसिर २६ गते बेलुकी साढे ८ बज्दै गर्दा अनिताको घरमा पुग्छन्, तब ढोका खोल्न आइ पुगेकी अनिताको भावभङ्गी जादुमय माने । जसै शहिदलाई अनिताले भित्र डो¥याउँछिन तब भने शहिद राजकिशोर देखेपछि झसंग हुन्छन् । देख्नासाथ हच्किन खोज्छन् । तर, भाग्ने ठाउँ थिएन । ढोका बन्द भइ सकेको थियो । शहिदले आँफुमाथि योजना बद्ध रुपमा षडेन्त्र भएको कुरा बल्ल थाँहा पाए । तब उम्कने ठाउँ थिएन ।
अनिता र उनका श्रीमान राजकिशोरले शहिदलाई बन्धक बनाउँछन् ।
डोरीले बाँध्छन् । राजकिशोरले कुटपिट सुरु गर्छन । राजकिशोरले आफ्नी श्रीमति अनितालाई लैजान शहिदलाई भन्छन् । तेरो र मेरो श्रीमतिको बीचमा यति माया प्रेम र सम्बन्ध रहेछ अब तैले मेरो श्रीमति लैजा भन्छन् । तर शहिदले अनितालाई लग्दिन भन्छन् । त्यो कुरा रातभर जति सोध्दा र गोद्दापनि शहिद स्वीकार्न राजी भएनन् ।
२७ गते बिहान भरपनि आफ्नी श्रीमति लैजान राजकिशोरले शहिदलाई पटक÷पटक आग्रह गर्छन । तर, त्यो कुरामा शहिद पटक्कै सहमत हुँदैनन् । बिहान ११ बज्दै थियो । त्यही बीचमा राजकिशोरले बाँधेर बन्धक बनाइ राखेका शहिद माथि धारिलो हतियार प्रहार गर्छन ।
प्रहरी नियन्त्रणमा रहेकी अनिताका अनुसार त्यो धारिलो हतियार बञ्चरो थियो । दुई चार पटकको बञ्चरो प्रहार बाट शहिद चलमलाउन छोड्छन् । त्यसैमाथि थप प्रहार गरि राजकिशोरले शहिदको बीभत्स हत्या गरि सकेका थिए ।
त्यसपछि राजकिशोर श्रीमति अनिताको साथमा घरमा ताल्चा लगाइ बाहिर निस्कन्छन् । सायद राजकिशोर शहिदको शब कहाँ ब्यबस्थापन गर्ने भन्ने उचित स्थानको खोजीमा थिए । प्रहरी अधिकारीका अनुसार हत्या पछि शहिदको शब सुरुमा प्लाष्टिकले बेरिएको थियो ।
खुट्टाहरु सलवार कुर्ताले बाँधिएका थिए । जुटको बोरामा राखेर फालेको अवस्थामा शब पुस ४ गते दिउँसो ३ बजे जिल्लाको मिथिला बिहारी नगरपालिका –२ पुरनदाहा टोलस्थित खैरा खोलाको पुलमुनी फेला पर्छ । त्यो बोराबाट मानिसका खुट्टा देखिएका थिए भने शब गन्हाएको थियो । अनुहार आक्रमणबाट पहिचान गर्न गाह्रो र कच्याक कुचुक थियो । अनुहारको भाग हिलोमा डुबेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
जिल्ला प्रहरी प्रमुख एसपी भूवनेश्वर तिवारीका अनुसार राजकिशोरले मोटरसाइकलमा लगेर रातिमा शब त्यो पुलबाट खोलामा फालेका थिए । उनले राति नै शब जलाउने प्रयास पनि गरे । तर, शब जलाउने प्रयास संभव भएन ।
घटना अनुसन्धानमा खटिएका प्रहरीका अनुसार शहिदको हत्या पछि राजकिशोरले कति दिन पछि पुलबाट शब खोलामा फालेका थिए भन्ने एकीन भइ सकेको छैन ।
‘ हामीले शब फेला पार्दा किरा परि सकेको थियो भने त्यो निकै गन्हाउने भइ सकेको थियो,’ एक प्रहरी अधिकारीले भने ‘ त्यो कुराले मंसिर २७ गते बिहान ११ बजेतिर शहिदको हत्या भएको खुलेपनि शब कहाँ–कहाँ लुकाएर राखे र खोलामा लगेर कहिले फाले भन्ने स्पष्ट खुल्न सम्बन्धित ब्यक्ति पक्राउ परेपछि खुल्छ ।’
हत्या पछि फेरि राजकिशोर साउदी अरब फर्कि सकेका थिए । उनी साउदी गएको ३२ दिन पुगिसकेको छ ।
प्रहरी अधिकारीहरुका अनुसार शहिदको हत्या पछि शब ब्यबस्थापनमा अरुको पनि संलग्नता रहेको आशंका छ । ‘ हत्या पछि गन्हाउने नहुँदासम्म उनीहरुले शब कहाँ कहाँ राखेका थिए, त्यो कुरा र मोटरसाइकलमा राखेर शब पुलबाट फाल्न जाँदा अर्कौ ब्यक्तिको थियो ? त्यो कुरा पनि स्पष्ट खुल्न बाँकी नै छ,’ एक अधिकारीले भने । थप केही मानिसहरु शंकाको घेरामा रहेको तथा उनीहरु माथि निगरानी बढाइएको प्रहरी बताएको छ ।
जुटको बोरा भित्र प्लाष्टिकमा बेरेको शबलाई महिलाको कुर्ता सलवालले बाँधेको पाइएपछि प्रहरी एउटा कुरामा भने स्पष्ट भइ सकेको थियो । त्यो हत्यामा महिलाको पनि हात छ भन्नेमा । त्यो हत्यामा घरकै श्रीमति वा प्रेमिका मध्य कसैको संलग्नता छ भन्ने कुरामा एसपी तिवारीपनि निश्चिन्त थिए ।
तर, प्रहरीका लागि पहिलो र प्रमुख चुनौति हत्या गरिएका ब्यक्तिको पहिचान गर्नु थियो । आक्रमणबाट अनुहार छेदबिछेद भएको अवस्था देखेपछि तत्कालै एसपी तिवारीले तालिम प्राप्त कुकुर घटनास्थलमा झिकाएका थिए । कुकुरले हत्याराको घरको बाटो डो¥याउन खोजेपनि थियो । पुस ४ गते केही संकेतहरु कुकुरबाट पनि मिलेका थिए ।
तर, बीचमा कुकुर अलमलियो । मृतकको पहिचानका लागि सबै बैज्ञानिक टेष्टहरु भए । डेएनए परीक्षणदेखि प्राबिधिक सबै अनुसन्धानहरु गरिएका थिए ।
पोष्टमार्टम रिपोर्टमा पनि शहिदको धारिलो हतियार प्रहार बाट मृत्यु भएको भन्ने उल्लेख गरेको थियो । शब फेला परेको तीन दिन पछि प्रहरी हेटक्वाटरको बिज्ञ मार्फत मृतकको स्केच तयारी पारी सार्वजनिक ग¥यो ।
प्रहरीलाई हत्या गरिएका ब्यक्ति भारतिय नागरिक पनि हुनसक्ने आशंका थियो । कारण त्यो दुई देश बीचको सीमानाकापनि थियो । त्यसैले प्रहरी स्केच देखाउँदै स्थानीयका घर–घरमा पुग्यो । इट्टाभट्टा, होटेल, फ्याक्ट्री, सुनचाँदी पसलमा काम गर्ने कालीगढ, छिमेकी देशका सीमाका प्रहरी बल सबै तिर प्रहरी स्केच देखाउँदै पुग्यो ।
तर, कुनै उपाय चलेन । हत्या गरिएका ब्यक्ति को थिए ? पहिचान भएन । एक दिन दुई दिन गर्दै दुई महिना ब्यथित भयो । हत्या गरिएका ब्यक्तिको पहिचान खुलेन ।
त्यही बीचमा एक दिन शहिदकी श्रीमति अजिमाले कसैले सामाजिक सञ्जालमा राखेको स्केचको फोटो नियाले हेर्छिन । उनलाई त्यो स्केच आफ्ना श्रीमान शहिदको जस्तै दुरुस्त लाग्छ ।
बिगत लामो समय यता कतारमा रहेका उनका श्रीमान शहिद संग जति प्रयास गर्दापनि श्रीमति अजिमाको सम्पर्क हुन सकिरहेको थिएन । जसले गर्दापनि अजिमा सशंकित थिइन ।
तर, सोच्थिन, सामाजिक सञ्जालमा कुरा हुँदा भएको ठाकठुकका कारण श्रीमान रिसाएको होलान र फेरि सम्पर्कमा आउलान भन्ने उनले सोच्थिन ।
श्रीमान संगको मिल्दो स्केच देखिसकेपछि अजिमाले मन थाप्न सकिनन् । त्यही भएर उनी फागुन १० गते अजिमा जिल्ला प्रहरी कार्यालय धनुषामा पुग्छिन् । त्यो स्केच आफ्ना कतारमा रहेका श्रीमान शहिद संग मिल्दो जुल्दो छ भन्ने कुरा प्रहरी अधिकारीहरु संग गर्छिन ।
अजिमा त्यत्तिमै रोकिइनन् , बिदेश जानु भन्दा पहिला आफ्ना श्रीमान शहिद र अनिता बीचको प्रेम सम्बन्धको कुरापनि प्रहरी समक्ष राख्छिन् ।
अजिमाले गरेको बयान र प्रहरीको अनुसन्धान बाट पत्ता लागेका कुरा सबै मिल्दा थिए । जब अजिमाले जाहेरी दिइन त्यसपछि प्रहरीले आँफुले संकलन गरेका सुराकहरुलाई पुष्टिहुने गरि थप अध्यनहरु अघि बढायो ।
शबमा बरामद बस्तुहरुको विश्लेशन गर्दै गयो । अजिमाले भने जस्तै त्यो शहिदको शब बाँधेको कुर्ता सलवार बाट अनुसन्धान सुरु भयो । त्यो कुरा पत्ता लगाउन प्रहरीले शब बाँधेको कुर्ता सलवार आसपासका छिमेकी महिलालाई पनि द्ेखायो । सबै प्रमाणहरु म्याचिङ हुँदै गएपछि प्रहरी अनिताको घरमा पुग्यो ।
सुरुमा अनिताले जोगिन धेरै प्रयासहरु गरिन । प्रहरीले एक पछि अर्कौ प्रश्न र प्रमाणहरु देखाउँदै कुराहरु राखेपछि अनिता पक्रिइन । उनका श्रीमान भने शहिदको हत्या र शब पुलबाट फालेपछि ३२ दिन अघि फेरि साउदी अरब गइ सकेको खुल्न आएको धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले बताए ।
‘ अब हामी उस्का बिरुद्ध रेड कर्णर नोटिस जारी गर्छौं र उस्लाई नेपाल झिकाउँछौ,’ एसपी तिवारीले भने ‘ अपराधी उम्कन सक्ने अवस्था अब छैन ।’
एसपी तिवारीका अनुसार हत्या गरिएका शहिद कतारमा बस्दा आफ्नै रुम पाटनरलाई सन्तोष तत्मा अनिता संगको सम्बन्ध बारे सबै कुरा खोलेका थिए ।
सन्तोष तत्मा मार्फत राजकिशोरले आफ्नी श्रीमति अनिताको शहिद संगको सम्बन्ध बारे थाहाँ पाएका थिए । त्यसपछि राजकिशोरले श्रीमति अनिता संग कुरा गर्छन । दुबै मिलेर शहिदको हत्या गर्ने योजना बुन्छन् । त्यही योजना अुनरुप राजकिशोर मंसिर १५ गते घर आइ सकेका थिए ।
जबकी अनिताले कर गरेपछि बिदा मागेर शहिद मंसिर २६ गते मात्रै कतारबाट आइ अनिताको घर पुगेका थिए ।
शहिदलाई कतारबाट बोलाएर योजना बद्ध रुपमा हत्या गरेको आरोपमा पक्राउ पछि धनुषा प्रहरीले बिहीबार मात्रै अनितालाई सार्वजनिक गरेको छ ।
मंसिर २७ गते शहिदको हत्या भएको थियो भने ७१ दिनपछि बल्ल प्रहरीले हत्यामा संलग्न एक प्रमुख आरोपी तथा प्रेमी अनितालाई सार्वजनिक गरेको थियो ।
शहिद हत्या बारे थप कुरा राजकिशोरलाई साउदी अरबबाट नेपाल फिर्ता ल्याएपछि सार्वजनिक गर्ने प्रहरी अधिकारीहरुले बताएका छन् ।

