घोराही, फागुन १४ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महाशिवरात्रि पर्वका अवसरमा दाङको पवित्र धार्मिक तीर्थस्थल पाण्डवेश्वर शिव मन्दिर धारपानीको मूल मन्दिरमा पूजा अर्चना गरेका छन् ।
घोराही उपमहानगरपालिका–५ स्थित धारपानी मन्दिरमा आयोजित विशेष पूजामा बुधबार उपस्थित भइ मुख्यमन्त्री आचार्यले पूजा आरधना गरेका हुन ।
मुख्यमन्त्री आचार्यका साथै लुम्बिनी प्रदेशका ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा, प्रदेशसभा सदस्य लोका विश्वकर्मा, घोराहीका मेयर नरुलाल चौधरी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल लगायत महाशिवरात्रिका दिन मन्दिर गइ पूजा अर्चना गरेका हुन ।
शिवरात्रि तथा सेना दिवसको अवसरमा नेपाली सेनाको एक टुकडीले धारपानीस्थित विश्वकै अग्लो त्रिशुललाई सलामी अर्पण गरेको थियो ।
पाण्डवश्वेर धारपानी मन्दिर धार्मिक तथा ऐतिहासिक दृष्टिले दाङको एक महत्वपूर्ण तीर्थस्थल हो । धर्मग्रन्थ अनुसार महाभारतकालमा पाण्डवहरू वनवासको क्रममा धारपानीमा आएर तपस्या गरेका थिए ।
त्यही भएर यो मन्दिरको नाम ‘पाण्डवश्वेर’ रहन गएको धार्मिक अगुवाहरु बताउँछन् । पाण्डवेश्वर मन्दिरमा विशेष गरी महाशिवरात्री, हरितालिका तीज, बालाचतुर्दशी तथा अन्य हिन्दू पर्वहरूमा भक्तजनको ठूलो घुइँचो लाग्ने गर्छ ।
पाण्डवश्वेर मन्दिर परिशर धार्मिक आस्थाको दृष्टिकोणले मात्र नभई प्राकृतिक रूपमा समेत आकर्षक गन्तव्य हो । मन्दिर परिशर हरियाली वन जंगलले घेरिएको छ । जहाँ प्राचिन गुफा, जलस्रोत र दक्षिणमा बबइ नदीपनि बगि रहेको हुन्छ ।

