२०८१ चैत्र १२ गते मङ्गलवार

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा लुम्बिनी प्रदेशसभा बैठकमा विशेष सम्बोधन: संघीयता, सहकार्य, र कानूनी समन्वयमा जोड


दाङ,फागुन ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै संघीयताले विकासको ढोका खोलेको र तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन ।

पवित्र भूमि लुम्बिनीमा उपस्थित हुन पाउँदा अत्यन्तै हर्षित भएको बताउँदै उनले भगवान गौतम बुद्धको जन्मस्थल तथा अन्य ऐतिहासिक र धार्मिक स्थलहरूले यो प्रदेशलाई विशेष बनाएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश प्राकृतिक, सांस्कृतिक तथा आर्थिक रूपमा समृद्ध बन्दै गएको र यहाँको राजधानी सफलतापूर्वक कार्यान्वयनमा आएको बताए। संघीयताले विकास सम्भव छ भन्ने उदाहरण लुम्बिनी प्रदेशले प्रस्तुत गरिरहेको उनको भनाइ छ।

उहाँले हालै निर्माण सम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल, फराकिलो सडक, तथा पूर्वाधार विकासलाई प्रदेशको प्रगतिको सूचकको रूपमा व्याख्या गरे । साथै, सिद्धबाबा सुरुङ मार्ग लगायतका योजनाहरूले यातायात सहज बनाउने बताउँदै, रामपुर-कपुरकोट सडक निर्माणमा पनि ध्यान दिइएको जानकारी गराए ।

प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशलाई कृषि, पर्यटन, र औद्योगिक केन्द्रका रूपमा अघि बढाउने योजनाबारे चर्चा गर्दै, मानव-केन्द्रित विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। `यदि मानव जीवन छैन भने विकासको कुनै अर्थ रहँदैन´उनले भने ।

सिंचाइ आयोजना सफल बनाउँदै कृषिलाई प्रवर्द्धन गर्नुपर्ने र वातावरण संरक्षणसँगै विकासका कार्यहरू अघि बढ्नुपर्नेमा उहाँले जोड दिए । प्रदेशको समग्र विकासका लागि केन्द्र सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले प्रदेश सरकारले १,२०० शय्याको लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण सुरु गरेकोमा प्रशंसा व्यक्त गरे ।

यो अस्पताल भवन प्रदेश सरकारको ६ अर्ब १८ करोड रुपैयाँ लागतमा बन्न लागेको पहिलो ठूलो पूर्वाधार हो । तर, केन्द्र सरकारले १,००० शय्याको अस्पताल पूर्ण रूपमा सञ्चालन गर्न नसकेको उल्लेख गर्दै, संघ, प्रदेश, र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताए ।

हामीले मिलेर यी स्वास्थ्य संस्थाहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्छ´ प्रधानमन्त्रीले भने,सहकार्यबाट मात्र नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिन्छ ।´

प्रधानमन्त्री ओलीले प्रविधिको सही सदुपयोगमा पनि जोड दिए । उनले भने,`मोबाइलमा गरेका कुरा गोप्य हुँदैनन् । अरूले बनाएको चिज हो। डेटा अन्त जान्छ । प्रविधिको धेरै विकास भएको छ। ठीक सदुपयोग गर्न सक्नुपर्छ ।´

प्रधानमन्त्री ओलीले संघीयता कार्यान्वयनका क्रममा देखिएका चुनौतीहरूलाई पार गर्न तीनै तहका सरकारहरूबीच समन्वय र सहकार्य अपरिहार्य रहेकोमा जोड दिए ।

साथै, उनले प्रदेशहरूले कानूनी संरचना निर्माण गर्दा संघीय सरकारद्वारा स्थापित मौजूदा कानूनहरूलाई आधार मानेर अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *