दाङ, फागुन १ । बर्दियामा मध्यराति स्थानीयले पालेका बाख्राको खोरमै पसेर बाख्रा मारेर खाने बाघलाई नियन्त्रणमा लिइएको छ ।
नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसहितको संयुक्त टोलीले पाटे बाघको झन्डै
दुई बर्षको बच्चा नियन्त्रण लिइएको हो ।
त्यो पाटे बाघको बच्चा बिहीबार राति ठाकुर बाबा नगरपालिकाको अम्रेनी क्षेत्रको मानव बस्तिमा पसेर स्थानीयले पालेका बाख्राको खोरमा प्रबेश गरि चार वटा बढी बाख्रा मारेर खाएको थियो ।
मध्यराति मानव बस्तिमा प्रबेशगरि पाटे बाघले बाख्रा खोरमा पसेर बाख्रा मारेर खाइ रहेको सूचना स्थानीयले मध्य रातिमै बर्दिया निकुञ्ज प्रशासनलाई खबर गरेका थिए ।
त्यसपछि त्यो बाघ निगरानी र नियन्त्रणको लागि प्राबिधिक टोली खटिएको थियो ।
उक्त टोलीले बिहीबार बिहान नौं बजेतिर झन्डै दुई बर्ष उमेरको पोथी पाटे बाघको बच्चालाई डार्ट गरि नियन्त्रणमा लिइ उद्धार गर्न सफल भएको निकुञ्जका सूचना अधिकारी शान्त मगरले जानकारी दिए ।
हाल पशु चिकित्सकले बाघको स्वास्थ्य चेकजाँच गरिरहेको उनले बताए ।
नियन्त्रणमा लिइएको त्यो बाघको बच्चा भोको रहेको हुँदा बाख्रा खोरमा पसेर बाख्राहरु मारेर खाएको भन्ने खुलेको सूचना अधिकारी मगरले जानकारी दिए ।
नियन्त्रणमा लिइएको बाघको बच्चा बारे थप निर्णय नभएको र छलफलहरु भइ रहेको निकुञ्ज प्रशासनले जानकारी दिएको छ ।