२०८२ असार ३१ गते बुधवार

बेसको छैठौं महाधिवेशन : बेसले बालेको चेतनाको दीयोले नयाँ उज्यालो ल्याउनेछ: संस्थापक चौधरी


तुलसीपुर,माघ २५ । बेस संस्था-ब्याकवार्ड सोसाइटी एजुकेशन)को ३० औं साधारणसभा तथा छैठौं महाधिवेशन दाङको चखौरामा सुरु भएको छ। यो अधिवेशनले बेसको नयाँ कार्यसमिति चयन गर्नेछ।

साधारणसभालाई सम्बोधन गर्दै बेसका संस्थापक अध्यक्ष तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बेसलाई अब नयाँ स्वरुपमा अघि बढाउने परियोजनाहरूको तयारी भइरहेको बताए।

स्थापनाकालदेखि नै पछाडि पारिएका तथा सिमान्तकृत बर्गको शिक्षा, स्वास्थ्य र जीविकोपार्जनका लागि काम गर्दै आएको बेस नेपालको सबैभन्दा ठूलो नागरिक सञ्जाल भएको सामाजिक संस्था हो।

कुनै बेला राज्यसँग लड्दै समाजमा शिक्षाको ज्योति फैलाउन संघर्ष गरेको बेसलाई अब नयाँ तरिकाले हरेक गाउँ र हरेक घरघर पुर्‍याउने गरी कार्यक्रमहरू सञ्चालन गरिने संस्थापक अध्यक्ष चौधरीले पनि बताएका छन्।

‘अब बेसलाई नयाँ तरिकाले अघि बढाउनुपर्ने बेला भएको छ। हिजो शिक्षालाई गाउँगाउँमा पुर्‍याउन टुकीको उज्यालोबाट सुरु भएको बेसको सामाजिक अभियान यो अवस्थासम्म आइपुगेको छ’ चौधरीले भने ‘अब हामीले हाम्रो शक्ति हाम्रो उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा फैलाउनका लागि लगाउन जरुरी छ।’

उनले थारु तथा आदिवासी जनजाति समुदायको रैथाने उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गर्नका लागि नयाँ कार्यक्रमहरूको तयारी भइरहेको र चाँडै नै ‘हरेक गाउँ, हरेक घरमा बेस अभियान’ सञ्चालन हुने पनि उनले घोषणा गरे।

विश्वमा सबैभन्दा ठूलो संख्यामा कमैया तथा बँधुवा मुक्त गर्ने अभियानको नेतृत्व बेसले गरेको स्मरण गर्दै चौधरीले आदिवासी जनजाति समुदायमा जागरण ल्याउनका लागि बेसले स्थापना गरेको चेतनाको ज्योति कहिल्यै ननिभ्ने पनि बताए।

‘लाखौ बँधुवा/कमैया/कम्लहरीलाई एकैपटक मुक्त गर्ने विश्वको सबैभन्दा ठूलो अभियान पनि बेसले नेतृत्व गरेको हो। बालबालिकालाई शिक्षाको अधिकार स्थापित गर्न बेसले गरेको हजारौं माइलको पैदल मार्चका कारण आज हरेक बालबालिका विद्यालयसम्म पुगेका छन्ֹ’ उनले भने ‘त्यसका लागि हामीले धेरै संघर्ष गरेका छौं। धेरैले यसका लागि ठूलो योगदान र त्याग अनि समर्पण गरेका छन्। अब हामीले त्यो सबको मूल्य चुकाउनुपर्नेछ र त्यसका लागि बेसलाई नयाँ उचाईंमा लैजानुपर्ने भएको छ।’

अधिवेशन उद्घाटन समारोहमा योजना आयोग लुम्बिनी प्रदेशका पूर्वउपाध्यक्ष डा.नहकुल केसी, थारु कल्याणकारिणी सभाका प्रेमीलाल चौधरी, बेस कञ्चनपुरका अध्यक्ष हवल्दार चौधरी, कैलालीका रामप्रसाद चौधरी, वर्दियाका कार्यबाहक अध्यक्ष शालिकराम चौधरी, बाँकेका लाहुराम थारु, सुर्खेतका कलबहादुर चौधरी, सल्यानका लालबहादुर बुढाथोकी, पश्चिम रुकुमका दशरथ नेपाली, पूर्वी रुकुमका कृष्णबहादुर बुढालगायतले मन्तव्य व्यक्त गरेका थिए।

उद्घाटन समारोहको समजीकरण बेसका कार्यकारी निर्देशक चुर्णबहादुर चौधरीले गरेका थिए।
शुक्रबार नै हुने अधिवेशनको बन्दशत्रले बेसको नयाँ कार्यसमिति चयन गर्नेछ।

र, शनिबार पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ कार्यसमितिलाई प्रमाणपत्र दिनेछन्। शनिबार चखौरामा हुन गइरहेको मटवा/बरघर/भलमन्सा संघको अधिवेशन र थारु सांस्कृतिक महोत्सवको उद्घाटन गर्नका लागि देउवा चखौरा आउने कार्यक्रम छ।

संग्राहलय परिसरमा शनिबार र आइतबार अन्तर प्रदेशस्तरीय कार्यक्रममा सांस्कृतिक तथा रैथाने खाना महोत्सव पनि लाग्नेछ। मटावाँ, बरघर, भलमन्सा संघका केन्द्रीय अध्यक्ष एवं लुम्विनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीका अनुसार थारु भाषा, कला, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले दुई दिने महोत्सव आयोजना गर्न लागिएको हो।

‘हाम्रो संस्कृति, हाम्रो सान, संस्कृति संरक्षणले बढ्छ देशको मान’ भन्ने मूल नाराका साथ कार्यक्रमको आयोजना हुन लागेको हो ।
महोत्सवमा दाङ र नवलपरासीको थारु समुदायको बर्का नाच, कैलालीको मुङ्ग्रहवा र चितवनको नाच प्रस्तुत हुनेछन्।

यस्तै, महोत्सवमा सांस्कृतिक प्रतियोगिता एवम् थारु लगायत विभिन्न जातजातिको रैथाने परिकारको प्रदर्शनी रहनेछ। थारु परिकारमा ढिक्री, अनदी चामलको भात, रोटी, अनदीको झोल, सुंगुरको सेकुवा, सिन्कीका परिकार, आलुको अचार लगायत जनजातिहरुको रैथाने परिकार बिक्री तथा वितरणका लागि राखिने छ।

त्यस्तै थारु भाषाको विभिन्न पुस्तक, पत्रपत्रिकाहरु, थारु हस्तकला लगायत विक्री तथा प्रदर्शनीका लागि राखिनेछन्। महोत्सवमा उत्कृष्ट सांस्कृतिक प्रदर्शन गर्ने पहिलो, दोस्रो र तेस्रोलाई आकर्षक पुरस्कारका साथै सहभागी सबै सांस्कृतिक टोलीलाई सान्त्वना पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

महोत्सवमा लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका थारुहरु मौलिक भेषभुषासहितका सांस्कृतिक झलकहरू प्रस्तुत हुनेछन्।

महोत्सवमा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, रुपन्देही, नवलपरासी, कपिलबस्तु जिल्ला हजाराैं मटावाँ, बरघर (भलमन्सा), ककन्डर्वाहरू लगायत थारु समुदायको उपस्थिति रहनेछ।

प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *