२०८१ फाल्गुन ७ गते बुधवार

दाङमा मनपरी राखिएका सडकका बिज्ञापन बोर्डहरु हटाउन सुरु

तुलसीपुर, माघ २३ । दाङमा सडकहरु किनारमा मनपरी राखिएका बिज्ञापन बोर्डहरु हटाउने क्रम सुरु भएको छ ।

सडक डिभिजन कार्यालय दाङले ब्यापारिक संस्था, ब्यक्ति बिषेश र संघ संस्थाले सडक सीमा मिचेर कानुन विपरित मनपरी रुपमा राखेका बिज्ञापन बोर्डहरु हटाउन सुरु गरेको हो ।

यसअघि सडकले सडक क्षेत्रमा मनपरी राखिएका होरिङ बोर्ड अर्थात बिज्ञापन बोर्डहरु हटाउन सार्वजनिक सूचना मार्फत आग्रह गरेको थियो । त्यो सूचनाका आधारमा कतिपय ब्यक्ति, ब्यापारिक संस्था र संघ संस्थाहरुले आँफै त्यस्ता होरिङबोर्डहरु हटाएका थिए ।


तर, सडक डिभिजनले सार्वजनिक रुपमा सूचना जारी गर्दापनि बेवास्ता वा अटेरी गर्ने संघ संस्थाका बिज्ञापन तथा होरिङबोर्डहरु भने सडक आँफैले हटाउन सुरु गरेको सडक डिभिजनका सूचना अधिकारी इञ्जिनियर अमिर सुबेदीले जानकारी दिए ।

सुबेदीले कानुनले निषेध गरेका गतिविधि सडक सीमाभित्र नगर्न पहिलो पटक सचेत तुल्याएको तथा ती हटाउन आग्रह गरिएको भएपनि सूचनाको वेवास्ता गर्नेहरुका बिज्ञापन बोर्डहरु हटाउन सुरु गरिएको बताए ।


लमही–भालुवाङका साथै घोराही सडक खण्ड तथा अमेलिया–तुलसीपुर वन क्षेत्रमा मनपरी राखिएका बिज्ञापन बोर्डहरु क्रमिक रुपमा हटाउँदै जाने सुबेदीले जानकारी दिए ।

वन जंगलका घुम्ति वा मोडहरुमा ब्यक्तिगत वा संस्थागत प्रचार प्रशारका लागि राखिएका आकर्षक बिज्ञापन वा होरिङ बोर्डहरुले चालकको ध्यान अन्तै मोडिदिने र त्यसले दुर्घटनाको जोखिम बढाउने निष्कर्षका साथ कार्यालयले त्यस्ता होरिङबोर्डहरु हटाउन सुरु गरेको इञ्जिनियर सुवेदीले बताए ।

झन्डै दुई हप्ता अघि महेन्द्र राजमार्ग अन्तगरगत धानखोलादेखि बाँकेको सीमाना शिवखोला, मदन भण्डारी राजमार्ग अन्तरगतको सल्यानको सितलपाटी– खलंगा– बालुवासंग्रही सडक खण्ड, मुर्कुटी–घोराही– तुलसीपुर – काल्चे सडक खण्ड, कोइलाबास अन्तगतको भालुवाङ – गनाहा सडक खण्ड, शहिद मार्ग अन्तगरको घोराही सडक खण्ड , राप्ती राजमार्ग अन्र्तगतको अमेलिया – तुलसीपुर – सितलपाटी – खौलाबास सडक खण्ड, रारा राजमार्ग अन्र्तगरको सल्यान थारमारे चौरजहारी सडक खण्डमा आँफुखुसी राखिएका होरिङबोर्डहरु हटाउन सडक डिभिजनले सार्वजनिक सूचना मार्फत आग्रह गरेको थियो ।

ती बिभिन्न स्थानमा सडक सीमा भित्र बिज्ञापन बोर्ड, होरिङबोर्ड राखिएको हूँदा ती हटाउन आग्रह गरिएको थियो ।
साथै सडकले सडक सीमा भित्र सवारीसाधन पार्किङ , सवारी साधन मर्मत ग्यारेजहरु , टायर हाउसहर्रु, गाडी धुने वासिङ सेन्टरहरु हटाउन आग्रह गरेको छ ।

त्यस्तै सडक सीमा भित्र मनपरी अटो स्ट्याण्ड बनाउने, अस्थायी तारबार गर्ने, हाट बजार , फलफूल पसल थाप्ने, कृषी उपज जस्तै बिस्कुन सुकाउने , परालको थुप्रो जस्ता कुराहरु सडक सीमाना भित्र अनाधिकृत रुपमा नराख्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८१ माघ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *