तुलसीपुर, माघ २३ । तुलसीपुर उपमहानगरपालिका – १० गौरीगाउँको फुटबल चौरमा मंगलबार स्थानीय किसानले पाल्दै आएका एक सय बढी घोडालाई टिटानस र जुका विरुद्धको खोप लगाउनुका साथै भिटामिन खुवाइएको छ ।
तुलसीपुर – १० का वडाध्यक्ष यमराज केसी र प्रदेशसभा सदस्य रेखा शर्मा लगाएत सरोकारवालाहरुको उपस्थितिमा एक दिने अश्व (घोडा) स्वास्थ शिविरको आयोजना गरि खोप लगाइएको हो ।
तुलसीपुर उपमहानगरपालिकाको पशु स्वास्थ्य शाखाले सहयोग र पशु स्वास्थ्य तालिम तथा परामर्ष सेवा कास्की पोखराको प्राबिधिक सहयोगमा एक सय बढी घोडालाई खोप लगाइएको हो । तुलसीपुर – १० र तुलसीपुर – ११ का किसान आँफुले पालेका घोडाहरु ल्याएर खोप लगाउन आएका थिए ।
झन्डै ३० बर्षदेखि घोडा लाद्ने काम गर्दै आएका तुलसीपुर – ११ प्रिगाउँका टेकबहादुर वलीले पनि गौरीगाँउको खेल मैदानमा आयोजित शिबिरमा आफ्नो घोडालाई खोप लगाउन आएका थिए ।
उनले स्थानीय सरकारले बर्षमा एक पटक टिटानस र जुकाको औषधि बिरुद्धको खोप लगाउने ब्यबस्था गरिदिन आग्रह गरे ।
सहर बजारमा घोडा हिड्दै हिड्दै बाटोमा दिशा पिसाब गरेपनि त्यो तत्काल फाल , सफा गर भन्नेहरु बढेको हुँदा उपमहानगरपालिकाले उचित नीति ल्याउन सक्नु पर्ने उनले बताए । घोडा बजारमा लैंजाँदा बाँध्नका लागि टहरा र पानी खुवाउने प्रबन्ध नगरपालिकाले गरिदिए राहात मिल्ने उनले बताए ।
तुलसीपुर – १० र ११ गरि दुई वटामा मात्रै एक सय २० बढी किसानले घोडा पाल्दै आएको हुँदा वडा कार्यालयले नगरपालिकाको योजनामा आँफु जस्ता घोडा पालक किसानको हितमा योजनाहरु ल्याउन नसकेको उनले बताए ।
नगरपालिकाले बजारमा पुग्दा कम्तिमा १० देखि २० वटासम्म घोडाहरु केही समय बाँध्न मिल्ने टहरा बनाइदिनुको साथै घोडालाई खुवाउने पानीको प्रबन्ध मात्रै गरिदिएपनि धेरै राहात मिल्थ्यो भन्ने वली ठान्छन् ।
आफ्नो ठाउँ (खड्दा) बिगतको जस्तो पुरै सीमसार रहेको भएपनि पछिल्लो समय पानी सुक्दै गएको तथा घोडाको चरण नासिदै जाँदा पाल्नै समस्या हुन थालेको वलीले बताए ।
तुलसीपुर – ११ बेलगनारी गाउँका राजकुमार चौधरीले २०६३ सालदेखि संस्थाको सहयोगमा टिटानस बिरुद्धको खोप घोडालाई केही बर्ष लगाउन पाएपनि पछिल्लो समय नपाउँदा समस्या भइ रहेको बताए ।
२०७७ पछि आफ्ना घोडालाई खोप लगाउन नपाएको तथा राज्यले त्यस्को ब्यबस्था गर्न कुनै चासो नदिएको उनले गुनासो गरे ।
अन्य पशु चौपाया जस्तै घोडाको पनि बिमा हुनुपर्ने उनको माग छ । बिमाको लागि आँफुहरु रकम जम्मा गर्न तयार रहेको भएपनि राज्यले नीति नै नल्याउनु बदमासी भएको चौधरी ठान्छन् ।
तुलसीपुर – ११ मोतिपुरका जागुराम चौधरी दुई बर्षसम्म लगाउन नपाएको टिटानस रोग बिरुद्धको खोप लगाउन पाउँदा खुसी लागेपनि बर्षेनी त्यो लगाउने पाउने सुनिश्चितता राज्यले गर्नुपर्ने बताए ।
२० बर्षदेखि घोडाको संगत गर्दै आएका उनलाई बजारमा कसैले पनि आफ्नो घर वा पसल अगाडि घोडा बान्नसम्म पनि नदिएको देख्दा दिक्क लाग्छ ।
‘घोडाले दिशा पिसाव गरेमा त्यो हामीलाई तत्काल उठाउन लगाइन्छ,’ उनले भने ‘ पशुले कति खेर दिशा पिशाब गर्छ भन्ने कुरा के हामीलाई थाहाँ हुन्छ र ।’
तुलसीपुर बजार क्षेत्रमा घोडा बाँध्ने अलग्गै ठाउँ र पानी खुवाउने ठाउँको ब्यबस्था गरिनु पर्ने उनले माग गरे ।
आफ्नै गाउँ मोतिपुरमा सिमसार क्षेत्र नासिदै गएको हुँदा पहिले जस्तो घोडाको चरण वा पगा लगाउने ठाउँ नष्ट हुँदापनि पाल्न समस्या भएको उनले बताए ।
‘ पहिले मोतिपुरमा जुम्लीहरु हिउँदमा घोडा लिएर आउँथे, हाम्रो ठाउँको सिमसारसबै सुक्दै गएपछि उनीहरु घोडा लिएर आउनै छोडे,’ उनले भने । सिमसार क्षेत्र सुकेपछि अहिले हामीले त्यो ठाउँमा बर्सिम घाँसहरु लगाउन थालेको उनले बताए । उनले पनि आँफुले पालेका घोडाको बिमा हुनुपर्ने माग गरे ।
तुलसीपुर पशु स्वास्थ्य कार्यालयको पशु पर्बद्धन कार्यालयमा कार्यरत डा. मनोज वली, पशु स्वास्थ्य तालिम तथा परामर्ष सेवा पोखराका कार्यकारी निर्देशक उमेश शर्मा, जिल्ला पशु स्वास्थ्य संस्था परामर्ष सेवामा कार्यरत रमन मिश्र लगाएतले किसानका घोडालाई खोप लगाइ दिएका थिए ।
उनीहरुले किसानलाई घोडाको रेखदेख, ब्यबस्थापन, दाना तथा घाँस के दिने, सरसफाइ कसरी गर्ने, कस्तो बेलामा भारी नबोकाउने, कति भारी बोकाउने जस्ता परामर्षहरु दिएका थिए ।
दाङमा सबै भन्दा धेरै घोडा पाल्ने किसान तुलसीपुरमै छन् । तुलसीपुर – १० र ११ मा मात्रै एक सय बढी घोडाहरु पालिएका छन् । जिल्ला भर झन्डै दुई सय पचास किसानले घोडा पालेको अनुमान गरिन्छ ।
ती बाहेक सिजनमा छिमेकी देश बाँकेको नेपालगञ्ज र भारत लगायतका स्थानवाट इट्टा भट्टाहरुमा ल्याइने घोडा वा खच्चडको संख्या झन्डै सात सय जति हुन्छ । जिल्लामा ४२ वटा इट्टाभट्टा रहेको र हरेकमा कम्तिमा पनि १० देखि २० वटासम्म घोडा र खच्चडहरु ल्याइन्छन् ।
घोडामा देखिएका स्वास्थ्य समस्यको पहिचान गरि त्यो समस्या समाधानका लागि परामर्ष दिने उदेश्यले शिविर आयोजना गरिएको उनले बताए ।