देउखुरी, माघ २१ । लुम्बिनी प्रदेश सरकारले आफ्नो स्थापनाको आठौं दिवस सोमबार उल्लासका साथ मनाएको छ ।
लुम्बिनी प्रदेश स्थापना दिवसको उद्घाटन गर्दै प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले जनता बलियो हुने शासन व्यवस्था नै संघीय शासन व्यवस्था भएको बताए ।
जनताको सेवकको रुपमा जनप्रतिनिधि रहेको भन्दै जनता भन्दा माथि कोही नहुने स्पष्ट पारे । भोट माग्दा एउटा ब्यबहार र जितेपछि अर्कै ब्यबहार जनताले भोग्न नहुने उनले बताएका थिए ।
‘जनताको शासन हो । यहाँ जनतानै जनादर्शन हुनु,’ उनले भने ,‘जन भावना अनुसार नै काम कारबाही अघि बढ्नुपर्छ ।’
मुख्यमन्त्री चेतनारायण आचार्यले तीन तहका सरकारका बीचमा प्रदेशलाई अब्बल बनाउन सक्ने गरी लुम्बिनी प्रदेशले उदारण दिन सफल भएको दाबी गरे ।
प्रदेश सरकार तीन तहका सरकारका बीचमा पनि अव्बल बन्न सक्छ भन्ने उदाहरण धेरै कामहरुले दर्शाएको उनले चर्चा गरेका थिए ।
बितेको सात बर्षको अवधिमा प्रदेश सभा र प्रदेश सरकारबाट करिब एक सय दशको संख्यामा कानुनहरु निर्माण गरेको उनले जानकारी दिए ।
प्रदेश तहमा अझैं धेरै कानुनहरु तर्जुमाको चरणमा रहेको, भन्दै संघीय सरकारसँग समन्वय गर्नुपर्ने आवश्यकता आंैल्याए ।
सभामुख तुलाराम घर्तीले प्रदेश तह संघीयताको नयाँ संरचना भएकाले यसको स्थायित्वको लागि सबैले प्राथमिकतामा राख्नुपर्ने बताए ।
‘वास्तविक संघियताको अभ्यास गर्ने थलो प्रदेश तह हो,’ उनले भने ‘ संघीय शासन प्रणालीलाई बास्तिक रुपमा आत्मसाथ गर्न जरुरी छ ।’
नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशलाई अधिकार सम्पन्न बनाउन संघीय सरकारले ध्यान दिनुपर्ने बताएका थिए । ‘गालि हामीले खानुपर्ने, अधिकार काठमाडौंमा राख्नुपर्ने,’ उनले भने ,‘अधिकार तलसम्म पुग्छ भनेर संविधानमा लेखियो । तर, अझैं अधिकार माथि नै रह्यो ।’ प्रदेशलाई बलियो बनाउन अधिकार सम्पन्न बनाइन पर्ने उनको जोड थियो ।
नेकपा माओबादी केन्द्रका नेता तथा प्रतिपक्ष दलका नेता पूर्व मुख्यमन्त्री जोखबहादुर महराले समृद्ध प्रदेशको लक्ष्य प्राप्त गर्न सबैका बीचमा साझा प्रतिबद्धता चाहिने बताए ।
प्रदेशलाई कानूनी रुपमा बलियो बनाउन केही ऐनहरु अझैं बनाउन बाँकी रहेको हुँदा ती ऐनलाई पुरा गर्ने जिम्मेवारी प्रदेश सरकारमा रहेको बताए ।
पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले आफुलाई अब्बल सावित गर्न अझैं ऐतिहाँसिक कामहरुलाई अघि बढाउन आवश्यक रहेको बताए ।
‘प्रदेशको सुरुवाती दिनलाई सम्झदा र अहिलेलाई तुलना गर्दा धेरै ऐतिहाँसिक काम भएका छन । इतिहासलाई जोगाई राख्नुपर्ने छ,’ उनले भने ‘प्रदेश राजधानी कार्यान्वयन, प्रदेशको नामाकरण जस्ता बिषयहरु प्रदेशले टुंग्याएर संघीयताको सही कार्यान्वयनको उदाहरण दिन सक्यो । यो नै ठूलो उपलब्धि हो ।’ नेकपा एमाले संसदीय दल उपनेता भोजप्रसाद श्रेष्ठले प्रदेश तहमा अझै उत्साह थप्न जरुरी रहेको बताए ।
प्रदेश सरकार र प्रदेश सभाले संयुक्त कार्यक्रमको आयोजना दिवस मनाइएको हो । प्रदेश सभा परिसर राप्ती उपत्यका (देउखुरी) मा आयोजना गरिएको दिवसको मुल समारोहमा विभिन्न समुदायको झाँकी प्रदर्शनी गरिएको थियो । मन्त्रालयगत स्टलहरु राखिएका थिए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय लगायतले स्टलहरु राखेका थिए ।
प्रदेश स्थाना दिवसमा ११ वटा विभिन्न झाँकीहरु प्रदर्शन गरिएका थिए । जस मध्ये शितगंगा नगरपालिकाको सोरठी भैलो झाँकी प्रथम, दाङ गढवाको पञ्चेबाजा झाँकी दृतिय, दाङ राप्ती गाउँपालिका र काहरवा नाच राजपुर गाउँपालिकाले तेस्रो स्थान हासिल गरेका थिए ।