
घोराही, १० असार ।
घोराही उपमहानगरपालिकाले आगामी आर्थिक बर्षका लागि पौने २ अर्बको बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाले मंगलबार आयोजना गरेको पाँचौ नगरसभामा उपप्रमुख सीता सिग्देल न्यौपानेले आगामी आर्थिक बर्षका लागि १ अर्ब ७८ करोड २९ लाख ६६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी छन् ।
उपमहानगरले चालुतर्फ १ अर्ब १८ करोड ९० लाख २५ हजार र पुँजीगततर्फ ५९ करोड ३९ लाख ४१ हजार बजेट विनियोजन गरिएको छ । कुल बजेट मध्य १ अर्ब ४६ करोड ८ लाख ८१ हजार विकास बजेटतर्फ र ३२ करोड २० लाख ८५ हजार प्रशासनिक खर्चतर्फ विनियोजन गरिएको उपप्रमुख न्यौपानेले जानकारी दिइन् ।
घोराही उपमहानगरले १९ वडालाई ९० लाख विकास बजेट र १० लाख वडा कार्यालय सञ्चालन व्यवस्थापनमा बजेट छुट्याएको छ । साथै कृषि तर्फ डेढ करोड, पशु सेवा तर्फ साढे ५८ लाख, सहकारी र रोजगार तर्फ साढे ६९ लाख बजेट विनियोजन भएको छ ।
त्यसैगरी, उपभोक्ता हिततर्फ साढे ३५ लाख, पर्यटन तथा संस्कृतितर्फ ७७ लाख, शिक्षा, युवा तथा खेलकुदतर्फ ४८ करोड ७० लाख, स्वास्थ्यतर्फ ६ करोड ७ लाख, महिला, बालबालिका, अपाङ्ग, जेष्ठ नागरिकतर्फ ७६ लाख ३८ हजार रुपैयाँ बजेट बिनियोजन भएको छ ।

सरसफाईतर्फ ७७ लाख २० हजार, विपद् एवं वातावरणतर्फ एक करोड साढे ३४ लाख, कानुनी मामिलातर्फ १५ लाख सूचना र सञ्चारतर्फ ३५ लाख, सुशासनतर्फ साढे ५० लाख, पूर्वाधारतर्फ साढे ३१ करोड रुपैयाँ विनियोजन गरिएको उपप्रमुख न्यौपानेले जानकारी दिइन् ।
यसैबीच घोराही उपमहानगरपालिकालाई संघ सरकारबाट वित्तीय समानिकरण अनुदानमा ३३ करोड ९९ लाख, राजस्व बाँडफाँट २६ करोड १ लाख, सशर्त अनुदानतर्फ ५३ करोड १२ लाख रुपैयाँ प्राप्त हुनेछ ।
त्यसैगरी, प्रदेश सरकारबाट वित्तीय समानिकरणको ६९ लाख ८७ हजार, राजस्व वाँडफाँटबाट ३ करोड ७६ लाख ६५ हजार, सशर्त अनुदानमा ३ करोड ६० लाख रुपैयाँ बजेट प्राप्त हुने छ । यसैबीच सडक बोर्डबाट २ करोड, युनिसेफबाट २० लाख, गरिबसँग विश्वेश्वर कार्यक्रमबाट १० लाख ५० हजार, उपमहानगरको आन्तरिक आय २५ करोड र सामाजिक सुरक्षा २६ करोड प्राप्त हुने अनुमान गरिएको छ ।
