बाँके, माघ १६ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले टुक्रे योजनालाई निरुत्साहित गर्ने रणनीति बनाएको बताएका छन ।
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटिको बाँकेमा आयोजना गरिएको चौथो पूर्ण बैठकलाई सम्वोधन गर्दैै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले टुक्रे र साना योजनालाई निरुत्साहित गर्दै ठूला र मझौला खालका योजनाहरुमा बजेट केन्द्रित गर्ने बताएका हुन ।
योजनाहरु छरेर होइन, परिणामुखी बनाएर जाने सरकारले रणनीति बनाएको उनले बताए ।
‘प्रदेश सरकारले अव टुक्रे योजना बनाउदैन,’ उनले भने,‘मझौला र ठूला योजना कार्यान्वयनमा सरकारले ध्यान दिनेछ । व्यक्तिविच्छे आउने योजनाहरुमा सरकारले बजेट राख्दैन ।’ उनले आगामी बर्षको बजेट तथा कार्यक्रम बनाउदा संस्थागत प्रक्रियालाई प्राथमिकतामा राखिने बताए ।
‘संस्थागतरुपमा आएका योजनाहरुलाई अघि बढाउछौं । बजेट माग्न मन्त्रालयमा भिड लाग्न पर्दैन, पहुँच र पावर पनि चाहिदैन । आवश्यकता र तथ्यांकको आधारमा सरकारले बजेट तर्जुमा गर्छ,’ उनले भने, ‘योजना छनौंटमा देखिएको विकृति रोक्नकै लागि पाँच लाख भन्दा माथिका योजना प्रतिसपर्धाबाट कार्यान्वयन गर्ने निर्णयमा सरकार पुगेको हो ।’
उनले हरेक खाले विकृति रोक्न सरकार निर्मम भएर अगाडि बढिरहेको बताए ।
बैठकमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारको प्राथमिकता, सञ्चालन भइरहेका कार्यक्रम र भावी योजना बारे जानकारी गराएका थिए ।
उनले ७० प्रतिशत भन्दा बढी योजना ठेक्का प्रक्रियाबाट कार्यान्वयनमा गइसकेको र बाँकी योजना पनि कार्यान्वयनको चरणमा रहेको बताएका थिए ।