२०८१ फाल्गुन ७ गते बुधवार

रुपन्देही अदालतले माग्यो रबिसंग एक करोड धरौटी

बुटवल, माघ १३ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संग जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटी माग गरेको छ ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी र संगठित अपराध कसुरमा आइतबार जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छाड्न आदेश दिएको हो ।


न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले पूर्व गृहमन्त्रीसमेत रहेका रबिलाई एक करोड धरौटीमा छाड्न आदेश दिएको हो ।

सहकारीका १० हजार ३९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको भन्दै यसअघि गत बैशाख ३ गते २८ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्धा दर्ता भएको थियो।

सहकारीको बचतमध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको देखिएको थियो ।

त्यसमा रबिहित १४ जना र वैशाखमा मुद्धा दर्ता भएका ८ जना गरी २२ जनाविरुद्ध गत माघ ६ गते सहकारी ठगी र संगठित अपराधमा पूरक मुद्धा दर्तागरेको थियो।


जस्मा ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो माग दाबी गरिएको थियो।

रबि बिरुद्ध व्यक्तिगत २ करोड र गोर्खा मिडियाका नाममा गएको २ करोड १५ लाख २८ हजार सामुहिक दायित्व गरी ४ करोड १५ लाख २८ हजार रुपैयाँ बिगो माग गरिएको थियो।

गोर्खा मिडियाका तत्कालीन उपाध्यक्षसमेत रहेका पूर्वडिआईजी छविलाल बन्जाडे जोशीविरुद्ध २ करोड ५० लाख व्यक्तिगत र १ करोड ७७ लाख ८८ हजार गरी ४ करोड २७ लाख ७८ हजार रुपैयाँ बिगो दावी गरिएको छ।
रुपन्देहीमा बिहीवारदेखि बहस सुरु भएको थियो ।

प्रकाशित मिति : २०८१ माघ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *