२०८१ फाल्गुन ७ गते बुधवार

कौवाघारीका प्रेमबहादुर माथि गोली प्रहारको घटना – पत्रकार सम्मेलन गर्दै दाङ प्रहरी


तुलसीपुर, माघ ६ । दाङको दंगीशरण गाउँपालिका – २ कौवाघारीका २५ बर्षीय प्रेमबहादुर कुसारीको बन्दुकको गोलीबाट मृत्यु भएको घटना बारे दाङ प्रहरीले आइतबार घोराहीमा पत्रकार सम्मेलन गर्ने भएको छ ।

घटना पछि फरार रहेका प्रेमबहादुरका साथीहरु छबिलाल डाँगी कोहलपुरबाट शनिबार दिउँसो र पुष्प बस्नेतलाई दाङको तुलसीपुर बजार क्षेत्रवाट शनिबार बेलुकी पख प्रहरीले पक्राउ गरेको थियो ।


उनीहरु पक्राउ परेपछि बयानका आधारमा स्थानीय जंगलमा फालेको अवस्थामा एउटा भरुवा बन्दुकपनि प्रहरीले बरामद गरि सकेको छ । सोही घटनामा सम्बन्धित रहेर प्रहरीले आइतबार दिउँसो ३ बजेपछि जिल्ला प्रहरी कार्यालय घोराही दाङमा पत्रकार सम्मेलन गर्न थालेको हो ।


माघ ३ गते बिहीबार अपरान्हमा प्रेमबहादुर माथि बन्दुकको गाली लागेको थियो । संगै गएका साथीहरु मध्य छबिलाल डाँगी र पुष्प बस्नेतले भने सुरुमा प्रेमबहादुरको रुखबाट लडेर घाइते भएको भनेर गलत सूचना दिएको भएपनि अनुसन्धानबाट उनको मृत्यु बन्दुकको गोलीबाट भएको प्रहरी अनुसन्धानबाट पुष्टि भइ सकेको छ ।

बिहीबार बेलुकी दुबै खुट्टाको तिघ्रा,घुँडा लगाएतमा गोलीका छर्रा लागेका प्रेमबहादुरलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याइएको थियो । राप्ती प्रादेशिक अस्पतालले घाइतेलाई बाँकेको नेपालगञ्जका लागि रिफर गरिदिएको थियो । सोही दिन राति नै उपचारका क्रममा प्रेमबहादुरको मृत्यु भएको थियो ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा प्रेमबहादुरको पोष्टमार्टम पछि परिवारजनले शब घर ल्याएका थिए । त्यही क्रममा प्रेमबहादुर रुखबाट लडेको नभइ उहाँ माथि बन्दुकको गोली प्रहार भएको भन्ने कुराहरु चलेको थियो । त्यसपछि जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनासहितको टोली राति नै कौवाघारी गाउँ पुगेको थियो । एसपी तिमिल्सिनाको निर्देशनमा शनिबार बिहान फेरि दोस्रो पटक पोष्टमार्टमका लागि प्रेमबहादुरको शब भेरी अस्पताल नेपालगञ्ज पठाइएको थियो ।

दोस्रो पोष्टमार्टम बाट तिघ्राको भागपनि चिरफार गरिएको थियो । त्यसपछि बन्दुकका छर्रापनि फेला परेको थियो । शनिबार त्यो पोष्टमार्टम पछि शब गाउँमा फिर्ता ल्याएर बेलुकी अबेर मात्रै अन्तेतिष्ट गरिएको थियो ।

चोरी शिकार गर्न भनेर गएका बखत प्रेमबहादुुरलाई आँफैले बोकेको भरुवा बन्दुक पड्किएर गोली लागेको कुरा पक्राउ परेकाहरुले गर्दै आएका छन् । प्रहरी अधिकारीहरु भने उनीहरुले भनेको सही हो वा पुरानो कुनै रिसिवीका कारण साथीहरुले नै योजना बनाई प्रेमबहादुर माथि बन्दुकबाट गोली हानेका थिए ? भन्ने बारे अनुसन्धान हुने बताउँछन् ।

प्रकाशित मिति : २०८१ माघ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *