तुलसीपुर , माघ ४ । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधामन्त्री शेरबहादुर देउवा दाङ आउने भएका छन् ।
काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्य मन्त्री डिल्लीबहादुर चौधरीका अनुसार पार्टी सभापति देउवा माघ २६ गते दाङ आउने छन् ।
दाङको दंगीशरण गाउँपालिका – ३ चखौरास्थित थारु संग्राहलयमा आयोजना हुने महतवा महासंघ, बडघर र थारु सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न सभापति देउवा दाङ आउने पूर्व मुख्यमन्त्री चौधरीले फरककोणलाई बताए ।
त्यो दिन कैलालीदेखि कञ्चनपुरसम्मका थारु अगुवाहरुको चखौरामा जमघट हुने छ । दाङ बाहेकका बाहिरी जिल्ला बाट मात्रै उक्त सम्मेलनमा हजारौं जना थारु अगुवाहरु भेला हुने जानकारी दिइएको छ । बाहिरी जिल्लाबाट झन्डै एक सय वटा बसहरु अतिथि लिएर चखौरा आइपुग्ने हुँदा हजारौं थारु समुदायका अगुवाहरु भेला हुने काँग्रेस नेता चौधरीले बताए ।
माघीको अवशरमा केही बर्ष पहिले सम्म नियमित सभापति देउवा चखौरा आउने गरेका थिए । देउवा प्रधानमन्त्री भएपछि र पार्टीको जिम्मेवारीमा छँदा भने कार्यब्यस्तताका कारण उनी दाङ आउन पाएका थिएनन् ।
अहिले फेरि देउवाले त्यही निरन्तरता कायम गर्न दाङ आउने र चखौरामा उपस्थित हुने हजारौं थारु अगुवाहरु तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा थारु सांस्कृतिक कार्यक्रमहरु पनि हुने छन् । कार्यक्रममा उत्कृष्ट हुने समुहलाई पुरस्कार पनि प्रदान गरिने भएको छ ।