तुलसीपुर , पुस २५ । तुलसीपुर उपमहानगरपालिका – १९ पिपलडाँडाका महादेव चौधरीको उपचार खर्च नगरले बेहोर्ने भएको छ ।
रोजगारीको खोजीमा भारतको सिम्लामा गएका बखत आगो ताप्ने क्रममा प्लास्टिक चप्किएर उनको घुडामुनि दुई वटै खुट्टामा जलनबाट गहिरो घाउ खत भएको छ । पैंशा अभावमा उपचार गर्न नसकेर उनलाई घर फिर्ता ल्याइ राखिएको थियो ।
मेयर टीकाराम खड्काले त्यो कुरा थाहाँ पाएपछि उपचारमा लाग्ने सम्पूर्ण खर्च उपमहानगरले बेहोर्ने बताएका हुन । चौधरीलाई शुक्रबार नै अस्पताल भर्ना गरिने मेयर खड्काले बताए ।
महादेवको अवस्था बारे जानकारी पाउना साथ मेयर खड्काले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति विकास लामिछानेलाई तत्काल फोन गरि चौधरीको उपचारमा लाग्ने सम्पूर्ण खर्च पालिकाबाटै भुक्तानी गर्ने बताएका थिए ।
नेपाल सरकारले जलनमा परेका नागरिकको निशुल्क उपचारको सात प्रदेशका सात वटा जिल्लामा व्यवस्था गरेपनि दाङका स्वास्थ्य संस्थामा यो सुविधा छैन ।
नागरिकलाई बाँच्न पाउने अधिकार सुनिश्चित गर्न र संविधानले नै स्वास्थ्य मौलिक अधिकारकारुपमा व्याख्या गरेकाले तुलसीपुरको २०८१ ÷०८२ को नीति कार्यक्रम र बजेटमा अग्नि जलनमा परेका नागरिकको सम्पूर्ण उपचारको व्यवस्था गरेको नगर प्रमुख खड्काले बताए ।
यो आर्थिक बर्षमा नगरले अग्नि जलन उपचार शिर्षकमा २० लाख विनियोजन गरेको छ ।
नगर प्रमुख खड्काले एक हप्ता अघि नै तत्कालका लागि उपचार गर्न ५० हजार व्यवस्था गरेपनि चौधरी परिवार भुक्तानी लिन नआएकोपनि बताएका थिए ।