तुलसीपुर, पुस २५ । दाङको तुलसीपुरमा आजदेखि चौथो कृष्णप्रसाद भट्टराई राष्ट्रिय कराँते प्रतियोगिता सुरु हुँदै छ । संगै ७औं राष्ट्रिय रेफ्री सेमिनार र कोच तालिम सुरु हुने छ ।
नेपाल कराँते महासंघ लुम्बिनी प्रदेश तथा जिल्ला कराँते संघ दाङको संयुक्त आयोजनामा कार्यक्रम सु हुन लागेको हो ।
लुम्बिनी प्रदेशका अध्यक्ष पदम बस्नेतका अनुसार कार्यक्रमको उद्घाटन दिउँसो १ बजे हुने छ ।
प्रतियोगितामा देशभरका ७७ जिल्लाका करिब २५० खेलाडी सहभागी हुने जानकारी दिइएको छ । तीन दिनसम्म सञ्चालन हुने यो प्रतियोगिता तुलसीपुरको इन्द्रनगरस्थित कर्भड हलमा हुने छ ।
प्रदेशस्तरबाट राष्ट्रिय टिम निर्माण गर्ने उद्देश्यले लुम्बिनी प्रदेशका १२ जिल्लाबाट खेलाडी छनोटको योजना बनाइएको छ ।
फागुन २७ र २८ गते ललितपुरमा हुने चौथो कृष्णप्रसाद भट्टराई राष्ट्रिय कराँते प्रतियोगिताका लागि उत्कृष्ट टिम छनोट गरिने समेत अध्यक्ष बस्नेतले बताएका थिए ।
कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी हुने छन भने नेपाल कराते महासंघका केन्द्रीय अध्यक्ष युवराज लामा लगायतको सहभागिता रहने आयोजकले जनाएको छ ।

