दाङ, पुस २५ । दाङको घोराहीबाट २४ केजी ७९० ग्राम चरेशसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा प्यूठानको स्वर्गद्धारी नगरपालिका – २ का ३९ बर्षीय निमबहादुर आले र नौंबहिनी गाउँपालिका – २ की २१ बर्षीया देउकली बुढा मगर छन् । रोल्पाको त्रिवेणी गाउँपालिका – ७ का २९ बर्षीय प्रकाश घर्ती मगरपनि पक्राउ परेका छन् ।
प्रतिबन्धित लागु औषध चरेशको अवैद्य ओसार पसार र बिक्रीमा लागेको आशंका गरिएकी रोल्पाकी एक महिलाको खोजी भइ रहेको छ । घोराही उपमहागरपालिका –१३ सिर्जनशिल टोलस्थित स्थानीय कुलबहादुर बस्नेतको घरको तल्लो फ्mलाइटको खान तलासी गर्ने क्रममा ठूलो परिमाणमा चरेश बरामद भएको हो ।
जहाँ प्यूठानका निमबहादुर आले र देउकली बुढा मगर भाडामा बस्दै आएका थिए । उनीहरुले संयुक्त रुपमा प्रयोग गर्दै आएको भान्सा कोठा भित्र प्लाष्टिकको ड्रममा प्लाष्टिकका बिभिन्न पोकाहरु बनाइ राखेको अवस्थामा २४ किलो ७९० ग्राम चरेश बरामद भएको थियो ।
रोल्पाका प्रकाश भने छुट्टै ठाउँमा कोठा भाडामा बस्दै आएको खुलेको छ । पक्राउ परेकाहरु आपसमा नातासम्बन्ध पर्ने ब्यक्तिहरु रहेको प्रहरीले जानकारी दिएको छ ।
दाङका प्रहरी प्रबक्ता डिएसपी इश्वर थापा नेतृत्वको टोलीले बुधबार बेलुका ७ बजेतिर उनीहरुको कोठा खानतलासी गर्दा प्रतिबन्धित चरेश बरामद भएको जानकारी दिएको छ ।
पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

